बालबालिकालाई स्कुलमै पढेको झल्को दिन घरमै पाठशाला

 जेठ २२, २०७७ बिहिबार ९:५२:५४ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – लकडाउनपछि कतिपय विद्यालय क्वरेण्टीन बनेका छन् । स्कुल जान नपाएका बालबालिका घरभित्रै थुनिएका छन् । खेतीबालीको समय भएकाले शिक्षक तथा अभिभावक पनि घरधन्दामै व्यस्त छन् ।   

तर सेलाङ्ग आधारभूत विद्यालय जुगल सिन्धुपाल्चोकका प्रध्यानाध्यापक पूर्णबहादुर कार्की लकडाउनका बेला पनि शैक्षिक सिकाइकै काममा व्यस्त हुनुहुन्छ । विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया छुटेको छैन । विद्यालयका तीन जना शिक्षकलाई वरपरका तीन वटा टोल विभाजन गरेर जिम्मेवारी बाँडफाड गरिएको छ । जिम्मेवारीमा परेको टोलमा पुगेर बालबालिका र उनीहरुका अभिभावकसँग शिक्षण सिकाइको अभ्यास भइरहेको छ । 

तत्काल स्कुल खुल्ने सम्भावना नभएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले सिकाइलाई निरन्तरता दिन नयाँ अभ्यास सुरु गरेको छ । पालिकाले सुरु गरेको घरमै पाठशाला अभियानलाई शिक्षकहरुले जिम्मेवारी लिएर अगाडि बढाएका छन् । पहिलो चरणमा कक्षा तीनसम्मका बालबालिकालाई सिकाइमा व्यस्त बनाउन थालिएको छ । ‘अरु बेला किताबका आधारमा पढाइ, लेखाइ र सिकाइको अभ्यास गरिरहेको भएर होला अहिले बानी बसाल्न समस्या भइरहेको छ’  कार्कीले भन्नुभयो, ‘पहिला अभिभावकले पनि यसरी त के पढ्लान् र ? भन्ने गर्नुहुन्थ्यो तर बिस्तारै बानी पर्दै गएको हो कि जस्तो लाग्न थालेको छ ।’ 

जुगल गाउँपालिकाले घरमै पाठशाला सञ्चालन गरेको दुई हप्ता भइसकेको छ । घरमै बसेर पढ्ने अभ्यास सुरु गरेपछि धेरैजसो बालबालिका व्यस्त भएका छन् । प्रध्यानाध्यापक कार्कीका अनुसार झण्डै ७५ प्रतिशत बालबालिकाले दिएको गृहकार्य गरेको पाइएको छ । ‘बालबच्चालाई विद्यालयमा जस्तो निरन्तर ख्याल राख्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘तै पनि बेलाबेलामा घरघरमा पुगेर सिकाउन खोजिएको यो प्रयासले राम्रै नतिजा दिन सक्छ ।’ 

घरमा पुगेर पढाउने, गृहकार्य दिने र सिकाउने काम गर्दा पनि बालबालिका र अभिभावकसँग सकेसम्म सामाजिक दुरी कायम गर्ने र स्वास्थ्य सावधानी अपनाउने गरेको उहाँले बताउनुभयो । तर कतिपय बालबालिका स्कुलमै जस्तो नजिक हुन खोज्ने, मास्क पनि नलगाउने गर्नाले समस्या पनि छ । उहाँ भन्नुहुन्छ, ‘सर भनेपछि केही बालबालिका नजिक पनि हुन खोज्छन्, उनीहरुलाई नजिक नआऊ भनेर मात्रै पुग्दैन, आफू नै सर्तक रहेर सिकाउने गरेका छौँ ।’

पालिकाले सुरुमा पाठ्य सामग्रीलाई घरघरमा पुर्यायो । घरमा नै सिकाइ अभियानमा जुगल गाउँपालिकाले पालिकाभित्रका झण्डै तीन हजार बालबालिकालाई शैक्षिक सामग्री पुर्‍याएकाे छ । ती शैक्षिक सामग्री पालिका आफैले प्रकाशन गरेको हो । अनि बालबालिकालाई घरमै सिकाइ कक्षा थालिएको हो । तर विगतमा जस्तो गरी पढ्ने र लेख्ने नभइ खेल्दै र सिक्दै गृहकार्यको अभ्यास थालिएको पालिकाले जनाएको छ । 

घरमा अभिभावकले आफ्ना बालबच्चालाई सिकाउनेछन् । सिकाइ सामग्रीमा केन्द्रित रहेर बालबालिकाले ४५ दिनसम्म नियमित गृहकार्य गर्नेछन् । ४५ दिनमा बालबच्चाले सिकेका बानी व्यवहार, संस्कार र उपलब्धिको मूल्याङ्कनको लागि शिक्षकहरु घरघरमा पुग्नेछन् । सामाजिक दुरी कायम गर्दै शिक्षकहरुले मूल्याङ्कनसँगै पृष्ठपोषण दिनेछन् । पालिकाले ४५ दिनमा मूल्याङ्कन गर्ने गरी कार्ययोजना बनाएको भए पनि आफूहरु बेला–बेलामा पुग्ने गरेको सेलाङ्ग आधारभूत विद्यालयका प्रध्यानाध्यापक कार्कीले बताउनुभयो ।

लकडाउनपछि विकल्पका रुपमा कतै अनलाइन कक्षा, कतै टीभी र रेडियोमार्फत् पनि पढाउन थालिएको छ । तर सबै बालबालिकाको पहुँचमा छैन । इन्टरनेट र टिभी/रेडियो पहुँच हुनेहरुलाई विकल्प हुन्छ । तर प्रविधि नै नपुगेका विद्यार्थीलाई यसैगरी पाठ्य सामग्री पुर्‍याउने र अभिभावकबाट सिकाउने अर्को महत्वपूर्ण विकल्प हो । त्यस्तै अरु विकल्प पनि छन् । 

विद्यालयले वर्क बुकमार्फत विद्यार्थीलाई हरेक दिन क्रियाकलाप गराउने र जानकारी लिने पनि गर्न सक्छ । विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया गर्ने गरी हटलाइन नम्बर, एसएमएसलाई पनि माध्यम बनाएर सिक्ने र सिकाउने गर्न सकिन्छ । त्यसको लागि सरकारले दायित्व लिने हो भने पालिकाले पनि योगदान गर्न तयार छन्, भन्नुहुन्छ गाउँपालिका महासङ्घका अध्यक्षसमेत रहनुभएका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ ।

शिक्षाको काम तीनवटै तहका सरकारको दायित्वभित्र पर्छ । जहाँ इन्टरनेट चल्दैन, रेडियो र टिभी नपुगेको हुनसक्छ, ती क्षेत्रमा स्वअध्ययन गर्ने छापा सामग्री नै उपयुक्त विकल्प हुने उहाँको भनाइ छ । ‘घर नै बालबालिकाको पहिलो पाठशाला हो, त्यसैले जीवनपद्धति र संस्कारमा केन्द्रित घरमै पाठशाला अभियान विकल्पका रुपमा अगाडि सारेका हौँ’, उहाँले भन्नुभयो, ‘कोरोना सङ्क्रमणको जोखिमबाट मुक्त नहुँदासम्म ढुक्कले बालबालिकालाई विद्यालय पठाउन सक्ने अवस्था छैन । अनि लकडाउन खुलेपछि पनि तत्काल विद्यालय खुल्न सक्ने अवस्था नरहेकाले वैकल्पिक शैक्षिक गतिविधि अगाडि बढाएका छौँ ।’ 

‘झण्डै तीन महिना विद्यालयका गतिविधि शून्य अवस्थामा रहे तर अब यसैगरी बस्नु हुँदैन’, महासङ्घका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘शिक्षा विभागले विज्ञको सहयोगमा तयार पारेको सिकाइ सामग्रीलाई आधार मानेर पालिकाले शिक्षण सिकाइलाई अगाडि बढाउन सक्छन् तर त्यसको लागि सङ्घीय सरकारले पनि लगानी गर्नुपर्छ ।’ 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया