सोलुखुम्बु : कार्गो विमानमा मानिसको समेत यात्रा, प्रशासन भने बेखबर !

 जेठ २२, २०७७ बिहिबार ११:७:४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : रामेछाप–लुक्ला कार्गो ढुवानी गरिरहेको विमानमा मानिसले समेत यात्रा गर्ने गरेको पाइएको छ । 

सोमबार लुक्लाबाट रामेछाप एक जना र रामेछापबाट लुक्लासम्म एकजनाले यात्रा गरेको मन्थली विमानस्थल रामेछापले स्वीकार गरेको छ । 

लकडाउनका कारण खाद्यान्नसँंगै निर्माण सामाग्रीको अभाव हुने भएकाले खुम्बुका लागि हेलिकप्टर तथा हवाइजहाज मार्फत केही हप्तादेखि कार्गो ढुवानी भइरहेको छ । 

विमानले रामेछाप तथा हेलिकप्टरले सोलुदूधकुण्डको टाक्सिन्दुबाट खुम्बुका लागि कार्गो ढुवानी गरिरहेको छ ।

समिट एयरमार्फत कार्गोसँंगै लुक्ला आउने यात्रु सिभिल इन्जिनियर भए पनि रामेछाप जाने को हो भन्ने बारे जानकारी दिन नागरिक उड्डयन प्राधिकरणले आनाकानी गरेको छ । 

लुक्ला विमानस्थल नजिकै निर्माणाधीन हेलिप्याडका लागि सिभिल इन्जिनियर आएको भए पनि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा कुनैपनि जानकारी छैन । 

यो समयमा जिल्ला भित्रने हरेक नागरिको बारेमा जानकारी राख्ने प्रमुख जिल्ला अधिकारी रमा आचार्यले नै कार्गाे विमानमा यात्रु के कसरी आए भन्नेबारेमा आफूलाई जानकारी नभएको बताउनुभयो । 

उता रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्र शर्माले भने पर्यटन मन्त्रालय हुँदै गृहबाट अनुमति लिएर कार्गोसँगै यात्रु लगिएको मौखिक जानकारी भए पनि आधिकारिक लिखित खबर नभएको बताउनुभयो ।

कार्गो ढुवानीको अनुमति पाएको विमानले यात्रुको समेत पुनः अनुमति नलिएसम्म उडान गर्न पाइँदैन । यता लुक्ला विमानस्थलका प्रमुख इमानाथ अधिकारीले भने एक जना यात्रु आएको भए पनि अनुमतिको विषयमा जानकारी नभएको भन्दै गाउँपालिकाले निर्माण गरेको क्वरेण्टीनमा राखिसकिएकाले यस विषयलाई खासै ठूलो नबनाउन आग्रह गर्नुभयो । 

लकडाउन व्यवस्थित बनाउन गाउँपालिकाले विभिन्न नाकाहरुमा कडाइ गरिरहे पनि कार्गो विमानको प्रयोग गरी बाहिरी मानिस पालिकामा भित्रिएपछि स्थानियले भने विरोध जनाएका छन् ।

गाउँपालिका स्वास्थ्य सम्योजक अर्थीमाया तामाङका अनुसार उनलार्ई गाउँपालिकाले तय गरेको लुक्लामा रहेकाे लादिला होटलको क्वरेन्टीनमा राखिएको छ । विना जानकारी आएका युवालाई १४ दिन सम्म क्वरेण्टीनमा राखेपछि आरडीटी गरिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया