‘आत्महत्या गर्ने अवस्था आएपछि पसल खोल्यौँ’

 जेठ २३, २०७७ शुक्रबार १७:५७:५५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - सरकारले घोषणा गरेको लकडाउनलाई सुरु सुरुमा नागरिकले राम्रोसँग साथ दिए । तर सरकारले लकडाउन मात्रै थप्ने गरेको र व्यापार व्यवसायका अरु विकल्प नदिएको भन्दै पसल खोल्ने क्रम बढेको छ । काठमाण्डौमा व्यापारीहरुले घोषणा गरेर नै पसल खोल्न थालेका छन् । 

काठमाण्डौको नयाँ बानेश्वरमा कपडा र जुत्ताको पसल गर्ने रामशरण गिरीले पसल खोल्न थालेको २ दिन भयो । एकातिर बैंकले किस्ता तिर्न भन्ने, अर्कोतिर घरभाडाको चिन्ता अनि सरकारले कर तिर्न गरेको करकरले उहाँ पसल खोल्न बाध्य हुनुभयो । 

‘जिन्दगी चलाउने एउटै माध्यम भनेको यही सटर हो । यो बन्द भएको ८० दिन हुन थाल्यो । अब त बरु कोरोना लागे बाँचिएला । पसल बन्द भए कसरी बाँच्ने भन्ने अवस्थामा पुगियो । मैले बिहान ११ बजेसम्म पसल खोल्न थालेको छु ।’ रामशरणले भन्नुभयो । 

पुरानो बानेश्वरमा कस्मेटिक पसल राख्नुभएका किरण नेपालले पनि अब अति भएकोले पसल खोल्न थालेको बताउनुभयो । ‘आजसम्म सरकारको भर गर्यौँ । तर केही पनि निर्णय आएन । जे पर्ला पर्ला भनेर पसल खोल्न थालेको छु ।’ नेपालले भन्नुभयो । 

‘आत्महत्या गर्ने धम्की आएपछि पसल खोल्यौँ’

सरकारले ४२ प्रकारका उद्योग र व्यापार व्यवसाय खोल्न अनुमति दिएपनि नागरिकको दैनिकीसँग जोडिएका पसल खोल्न दिएन । ७० दिनसम्म सरकारको निर्णय कुरेका व्यवसायीहरु अब भने रोगभन्दा भोकले मर्ने र मानसिक तनाबको सिकार हुने अवस्था आएको भन्दै पसल खोल्न थालेका छन् । सरकारले लकडाउन लगाएपनि नागरिकको खर्चमा लकडाउन लागेको छैन ।

कमाइ हुने एउटै बाटो बन्द हुँदा उनीहरु रन्थनिएका छन् । सरकारको बाटो हेर्दाहेर्दै थाकेर आफैँ निर्णय गर्न बाध्य भएको बताउनुहुन्छ, नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवाल । ‘देशका धेरै ठाउँबाट अब केही कदम नचाले हामी आत्महत्या गर्न बाध्य हुन्छौँ भन्ने धम्की र गुनासो आयो । त्यसपछि हामीले सचिवालयको बैठक बसेर सरकारको निर्णयको अवज्ञा गरेका हौँ ।’ महासङ्घका अध्यक्ष कटुवालले भन्नुभयो । 

दिनदिनै ३ सयको हाराहारीमा सङ्क्रमित थपिएका छन्, पसल खोल्दा जोखिम हुँदैन भन्ने उज्यालोको प्रश्नमा कटुवाल भन्नुहुन्छ, ‘सरकारले लकडाउनको म्याद थप्नेबाहेक अर्को काम गरेन । त्यसैले सामाजिक दूरी कायम गर्ने र सुरक्षाका उपाय अपनाउने निर्णयसहित पसल खोलेका हौँ । हामीले अन्धाधुन्ध पसल खोलेको होइन, सतर्कता अपनाएका छौँ ।’

पसल खोल्नेलाई पक्राउ गर्छौँ : डिआइजी शाही

फलानो दिनसम्म लकडाउन थपियो भन्ने बाहेक अरु विषयमा सरकारले अध्ययन नै गरेन । अति भएपछि नागरिकले आफैँ पसल खोल्न थालेका छन् । व्यापारीले जनस्तरबाट समेत समर्थन छ भने औपचारिक निर्णय नआएपनि सरकार केही लचिलो भएको देखिन्छ । तर नेपाल प्रहरीका प्रवक्ता एवम् डिआइजी निरजबहादुर शाही भन्नुहुन्छ, ‘पसल खोल्नू भनेर माथिबाट आदेश नआएकोले हामीले पसल खोल्नेलाई पक्राउ गर्छौँ ।’ 

‘हामीलाई माथिबाट जे निर्णय आउँछ त्यो पालना गर्ने हो । हामीलाई लकडाउन खुकुलो गर्नु भनेर पछिल्लो निर्णय केही आएको छैन । त्यसैले सरकारले तोकेकोबाहेक पसल खोल्नेलाई पक्राउ गरिरहेका छौँ,’ डिआइजी शाहीले भन्नुभयो । उहाँले पछिल्ला दिनमा पक्राउ पर्ने क्रम बढिरहेको पनि जानकारी दिनुभयो । ‘पहिले ५/६ सय जनालाई पक्राउ गर्ने गरिएकोमा अहिले दैनिक ९ सय भन्दा धेरै पक्राउ परिरहेका छन् ।’ शाहीले भन्नुभयो  ।

मोडालिटी परिवर्तनमा सरकारले कामै गरेन

सरकारले पटक पटक कोरोनाको जोखिम कम भएका ठाउँमा लकडाउन खुकुलो बनाउने, व्यापार व्यवसाय चल्न दिने भने पनि निर्णय गरेन । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति नाम मात्रैको समिति बन्न थाल्यो । आज केही निर्णय आउला कि भन्यो, भोलि आउला कि भन्यो तर आएन ।

‘केही समय पहिले नेकपाको विवादले उच्चस्तरीय समितिको बैठकै बस्न पाएन । अहिले पनि लकडाउनको मोडालिटी परिवर्तनबारे गम्भीर छलफल भएको छैन । स्वास्थ्य मन्त्रालयले एउटा प्रस्ताव पठाएको छ, त्यसमा छलफल हुन्छ ।’ समितिका एक सदस्यले भने । 

दिनदिनै ३ सयको हाराहारीमा सङ्क्रमित थपिइरहेका छन् । त्यसैले व्यवसायीले पनि कोरोना भागेजस्तो गरेर पसल खोल्नु हुँदैन । भौतिक दूरी र अन्य सुरक्षाका उपाय अपनाउनुपर्यो । ग्राहक पनि बजार खुल्यो भन्दै सुरक्षाका उपाय नअपनाई  लखरलखर डुल्न भएन । चौतर्फी दबाबपछि सरकारले लकडाउनको मोडालिटी पक्कै पनि परिवर्तन गर्ला नै । 

अन्तिम अपडेट: चैत १३, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया