२३८ नेपालीको शव विदेशमै, चार्टड उडानमार्फत क्रमिक रुपमा नेपाल ल्याउने तयारी

 जेठ २३, २०७७ शुक्रबार १९:२४:४६ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २ सय ३८ नेपालीको शव गन्तव्य देशमा नै रोकिएको छ ।  

वैदेशिक रोजगार बोर्डले जनाएअनुसार शुक्रबारसम्म २२६ पुरुष र १२ महिलाका गरी २३८ शव विदेशमै रोकिएका छन् । यसमध्ये २३ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ८५ शवको उतै अन्त्येष्टिको लागि सम्बन्धित व्यक्तिको परिवारबाट सहमति पनि प्राप्त भइसकेको छ ।

साउदीमा सबैभन्दा बढी ५८ शव रहेका छन् । जसमध्ये ९ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका हुन् । साउदीमा १३ शवको उतै अन्त्येष्टिको लागि सहमति प्राप्त भइसकेको छ । 

यस्तै मलेसियामा ५२ शव रहेका छन् । जसमध्ये पाँचवटा शवको उतै अन्त्येष्टिका लागि सहमति प्राप्त भइसकेको छ । 

कतारमा रहेका ३७ शवमध्ये १० शवको उतै अन्त्येष्टिको लागि सहमति भइसकेको छ । कतारमा ४ जना नेपालीले कोरोनाबाट ज्यान गुमाएका छन् ।

यूएईमा ५५ शव रोकिएका छन् । जसमध्ये ९ जनाको कोरोनाका कारण ज्यान गएको छ भने ४४ शवको उतै अन्त्येष्टिको लागि सहमति भइसकेको बोर्डले जनाएको छ ।

यस्तै कुवेतमा ११, बहराइनमा ७, ओमानमा १ र दक्षिण कोरियामा ५ शव रोकिएका छन् । यीमध्ये बहराइनमा २ र दक्षिण कोरियामा रहेका ५ वटै शवको उतै अन्त्येष्टिको लागि सहमति प्राप्त भइसकेको छ ।

यसबाहेक टर्कीमा १, सेसेल्समा १, अमेरिकामा २, बंगलादेशमा १, थाइल्याण्डमा १, कम्बोडियामा १, साइप्रसमा १, जोर्डनमा १, जापानमा १, इराकमा १ र मंगोलियामा १ गरी १२ वटा शव रहेको र तीमध्ये ८ शवको उतै अन्त्येष्टिका लागि परिवारबाट सहमति पाइसकेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार अरु शवको पनि उतै अन्त्येष्टिको लागि परिवारबाट सहमति प्राप्त हुने क्रम जारी छ । बोर्डका अनुसार वैदेशिक रोजगारीको क्रममा कोरोनाबाहेक अन्य कारणले ज्यान गुमाएकाहरुको शव चार्टड उडान हुने बेलामा क्रमिक रुपमा नेपाल ल्याइने छ । यसरी शव नेपाल ल्याइसकेपछि निःशुल्क शव ढुवानीको लागि बोर्डमा सम्पर्क गर्न सम्बन्धित परिवारका सदस्यलाई आग्रह गरिएको छ । 

दिनबन्धु सुवेदी, आशिष भण्डारी र मैया कँडेलको मोबाइल नम्बर ९८४१५०७८९८, ९८५५०३२२८८ र ९८५११८५१८६ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया