विदेशबाट प्राथमिकताको आधारमा उद्धार गर्ने सरकारी योजना : पहिलो दिन नै आएनन् दूतावासको सूचीअनुसारका नेपाली

यूएईबाट पहिलो दिन कस्ता कस्ता नेपाली स्वदेश फर्किए ?

काठमाण्डौ – लमजुङका देवराज गुरुङ र उहाँका साथीहरु कैलालीका अर्जुन चौधरी, नीरमान घर्तीमगर, गोविन्द चौधरी लगायत ६७ जना नेपाली यूएईमा रहेको कम्पनीको क्याम्पमा बसिरहेका थिए । कोरोना भाइरसका कारण काम बन्द थियो, कमाइ पनि थिएन । कामको चटारो पनि थिएन ।

इदाजा म्यानेजमेण्ट फ्यासिलिटी कम्पनीमा कार्यरत उनीहरु ६ महिनाको बेतलबी बिदा पाएपछि स्वदेश फर्कने दिनको पर्खाईमा थिए । बिहीबार राती नसोचेकै भयो । राती ११ बजेतिर कम्पनीले उनीहरुलाई भोलि (शुक्रबार) नेपाल फर्कन पाउने जानकारी गयो । 

बिहान पाँच बजे नै विमानस्थल जान तयार हुनु भन्ने खबर कम्पनीबाट पाएपछि उनीहरु हर्षित भए । महिनौंदेखिको पर्खाइ एकाएक सकिएजस्तो भयो । उनीहरु सबैजसो यूएई पुगेको झण्डै ८ महिना मात्रै भएको थियो ।

कतिपयसँग घर फर्कनका लागि किनेका सामान पनि थिए । कोही भने हाते ब्याग, हाफपाइन्ट र चप्पलमै शुक्रबार बिहान पाँच बजे कम्पनीको गेटमा निस्किए ।

कोरोनाको कारण काम बन्द भएपछि कम्पनीले उनीहरुलाई ६ महिनाको बेतलबी बिदा दिएको थियो । तर नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएकाले घर फर्कन पाएनन् । कम्पनीले दिनमा खाद्यान्नका लागि प्रतिव्यक्ति १० दिर्हाम दिन्थ्यो । त्यही १० दिर्हामले उनीहरुले आफ्नो पेट पालिरहेका थिए । 

महिनौंदेखि काम र कमाइबिहीन भएर बसेका उनीहरु शुक्रबार नेपाल फर्कन पाउने खबर सुनेर दंग परे । लुगाफाटो पोको पारे । कतिपयसँग घर फर्कनका लागि किनेका सामान पनि थिए । कोही भने हाते ब्याग, हाफपाइन्ट र चप्पलमै शुक्रबार बिहान पाँच बजे कम्पनीको गेटमा निस्किए ।

इजादा कम्पनीमा कार्यरत नेपालीलाई जस्तै ट्रान्सगार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जनालाई पनि शुक्रबार नेपाल फर्काइने जानकारी गराइयो । झण्डै पाँच हजार श्रमिक कार्यरत यो कम्पनीले यसअघि पनि नेपाली श्रमिकलाई जहाज चार्टर्ड गरेर नेपालसम्म ल्याइदिने प्रस्ताव पठाएको थियो । 

कम्पनीमा काम नहुँदा समस्यामा पर्नेलाई पठाउन कम्पनीले नै पहल गरिरहेको थियो । उनीहरुलाई एयर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल फर्कनका लागि यूएईको स्थानीय समय अनुसार बिहान १० बजेर ५५ मिनेको बोर्डिङपास दिइयो ।

नेपाल फर्कने श्रमिकको साथमा कोरोना जाँचको रिपोर्ट हुनुपर्छ भनिए पनि हातमा बोर्डिङपास आउँदासम्म उनीहरुको कोरोना जाँच भएन । उडान हुने, नहुने अन्यौलमा श्रमिकहरु कुरिरहे । विमानमा चढाएर पनि  ओरालियो । धेरैबेर पर्खिएपछि मात्र उनीहरु जहाज चढेर स्वदेश फर्कन पाए । 

किन भयो अन्यौल ?

यूएईबाट स्वदेश फर्कनको लागि १८ हजार नेपालीले दूतावासमा फारम भरेका छन् । दूतावासले फारम भरेकामध्ये सरकारले तोकेको प्राथमिकताको आधारमा सूची बनायो र त्यही सूची परराष्ट्रलाई पठायो ।

पहिलो प्राथमिकतामा परेका नेपालीको सूची परराष्ट्र मन्त्रालयले यूएईलाई पठायो । यूएईले सुरुमा आफ्नै खर्चमा पठाउने पठाउने भन्ने नोट लेख्यो र नेपालबाट त्यही अनुसारको अनुमति लिइयो ।

दूतावास स्रोतका अनुसार यूएईले सुरुमा श्रमिकलाई निःशुल्क नेपालसम्म पुर्‍याइदिने भनेर अनुमति लिएको हो । दूतावासलाई प्राप्त नोटमा पनि निःशुल्कै पुर्‍याइदिने कुरा उल्लेख छ । तर अन्तिम समयमा यूएइले कुरा फेर्दा समस्या भएको दूतावासको भनाइ छ । 

यूएईमा रहेको नेपाली दूतावासलाई पनि त्यही जानकारी गयो । तर बिहीबार राती यूएईको समय अनुसार ८ बजे मात्रै यूएईले निःशुल्क नपठाउने, टिकट भएकालाई मात्रै पठाउने भन्ने जानकारी दूतावासलाई प्राप्त भयो ।

दूतावासले प्राथमिकताको आधारमा अति नै समस्यामा परेका, बिरामी, गर्भवती लगायतको सूची तयार पारेको थियो । तर यूएईले सरकारले निःशुल्क नेपालीलाई नपठाउने र टिकट भएकालाई मात्र पठाउने भनेपछि दूतावासको तयारी र यूएईको तयारीबीच फरक पर्न गयो ।

दूतावास स्रोतका अनुसार यूएईले सुरुमा श्रमिकलाई निःशुल्क नेपालसम्म पुर्‍याइदिने भनेर अनुमति लिएको हो । दूतावासलाई प्राप्त नोटमा पनि निःशुल्कै पुर्‍याइदिने कुरा उल्लेख छ । तर अन्तिम समयमा यूएइले कुरा फेर्दा समस्या भएको दूतावासको भनाइ छ । 

दूतावासले सुरुमा नेपाल फर्कन चाहने र सरकारको प्राथमिकताको आधारमा सूची पठाए पनि सबै प्रदेशमा क्वरेण्टीन नबनेको भनेपछि प्रदेशस्तरका श्रमिकको नाम छनोट गरियो । जसअनुसार प्रदेश १ र गण्डकी प्रदेशकालाई पहिले लैजाने तयारी पनि भइरहेको थियो । तर दूतावासको सूची एकातिर, परराष्ट्रको सूची अर्कोतिर र यूएईको नोट अर्कोतिर हुँदा प्राथमिकतामा परेका नेपाली आउन पाएनन् ।

अन्तिम समयमा नेपालीलाई निःशुल्क नलाने भनेपछि को को नेपाली कसरी र कति फर्किए भन्ने जानकारी दूतावासलाई नभएको राजदूत कृष्णप्रसाद ढकालको भनाइ छ ।

‘कोरोना जाँच पनि नगरी लैजाने तयारी रहेछ, हामीले त्यो भए नेपालमा जहाज अवतरण हुँदैन भनेपछि कोरोना जाँच गराएको सूची दूतावासमा आएको छ,’ राजदूत ढकालले भन्नुभयो, ‘निःशुल्क लैजाने भनेपछि त्यही अनुसारको तयारी थियो, त्यो नभएपछि दूतावासले अर्को तयारी गर्नुपर्ने हुन्थ्यो तर उहाँहरुले आफूअनुसार तयारी गरेर पठाइदिनुभयो ।’

यूएईबाट आएको एअर अरेबियाले १६८ जना यात्रुसहित एक शव पनि शुक्रबार साँझ नेपाल ल्याएको छ । नेपालीलाई प्रदेश अनुसार क्वरेण्टीनमा राखेर स्वास्थ्य जाँच पछि मात्रै सम्बन्धित प्रदेशमा पठाइनेछ । उनीहरु १४ दिन क्वारेण्टीनमा बसेपछि मात्रै घर जान पाउनेछन् । 

काम नहुँदा बेतलबी बिदामा बसेका नेपाली घर फर्किनु सुखद कुरा हो । तर अन्तिम समयमा आएर दूतावासको जानकारीबिनै नेपालीलाई यूएईले आफूखुशी पठाइदिनुले चाहिँ परराष्ट्र मन्त्रालय र दूतावासले यूएईको सम्बन्धित निकायसँग समन्वयको अभाव भएको देखिएको छ ।

प्रदेश एकका धेरै फर्किए

यूएईबाट फर्कनेमा सबैभन्दा धेरै प्रदेश एकका छन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार प्रदेश १ का ४६ जना प्रदेश २ का २३ र वाग्मतीका ३७ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशका २८, प्रदेश ५ का १८, कर्णालीका ४ र सुदूरपश्चिम प्रदेशका १२ जना नेपाली यूएईबाट शुक्रबार फर्किएका छन् ।

उनीहरुलाई काठमाण्डौमा तोकिएको होल्डिङ सेन्टरमा लगिएको छ । विमानस्थलदेखि होल्डिङ सेन्टरमा लैजान नेपाली सेनाले समन्वय गरेको छ ।

सरकारले काठमाण्डौको यती पार्टी प्यालेस वसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ । जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।

यूएईबाट फर्कनेमा सबैभन्दा धेरै प्रदेश एकका छन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार प्रदेश १ का ४६ जना प्रदेश २ का २३ र वाग्मतीका ३७ जना रहेका छन् ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ ।

ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । जगेडाका रुपमा सिद्धार्थ कलेज धोबीघाट तयार पारिएको छ । यहाँ कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिक राखिने छन् ।

उद्धार गरिएकालाई प्रारम्भिक चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेपछि उपत्यकाका तोकिएका ‘होल्डिङ सेन्टर’ मा राखिन्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित जिल्लाको क्वारेण्टीन वा सेल्फ क्वारेण्टीनमा पठाइन्छ । त्यसरी नजाँदासम्मका लागि सेन्टरमा उनीहरुको आवश्यक व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ । उपत्यकाका तीन जिल्लामा झण्डै तीन हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

2 Comments

  • Jhal bahadur mahat

    June 6, 2020, 11:48 p.m.

    मेरो २ वर्षको एग्रिमेन्ट सकिएकोले कम्पनीले क्यान्सील पेपरमा सही गरिसकेछ / २ वर्ष पुगेपछि कम्पनीको टिकटमा पठाउने भएकोले घर जान पाउँ , हाल युएई /

  •  0 Reply
  • Jiban

    June 6, 2020, 12:24 a.m.

    आज बहुत घोटला भयो राजनीति कहाँ कहाँ मात्रै नहुदो रहेछ जानी नजानी अन्जान्मै हामी राज्नितिको सिकार हुने रहेछ न media जान्ने रहेछ न कोही साचो कुरो कसैलाई थाह नहुने रहेछ हिजो बेलुका मात्रै मलाई थाह भयो trasgurd को मान्छे हरु लाई राती नै बोलायो राता रात हिसाब किताब clear गरेर compant को गाडी ले नै airport पुर्यायो रे भन्ने कती followup गरे दुख पाएको मान्छे लाई जान पाउन पर्छ भनेर केहि लागेन अन्तिम समय सम्म नि flight cancel हुन्छ होला भन्ने सोचेको केहि भयन न Corona nai test भयो केहि नगरि केहि नभै मान्छे हरु नेपाल गए हुन त दुख पएका दाजु भाई दिदी बहिनी गए होलान तर जम्मा ११ जना मान्छे हरु मात्रै नेपाल पुगे जो साचै पिडित थिय १६८ जना मा सपै एउटै company का मान्छे गए ११ जना छोडेर उनिहरु नि दुख त पाका हु तर खान बस्न company ले दिएको थियो कोही एस्ता पिडित हरु छन जो day 1st बाट न काम न दाम अनि मोटो रकम दलाल लाई तिरेर आएका हरु नि छन न त Nepal Embassy थाह छ न नेपाल सरकार लाई एस्तो पाराले के control हुन्छ ??? Media को अघाडी उद्दार गरे जस्तो तर पिडित पिडा मै छ सपै ठिक छ गरेको गरेई छम भने जस्तो एउटा private company को बेकुफी नि नसम्झिने मेरो देश को राज्य सम्यन्त्र कालापानी लिपुलेक फिर्ता ल्याउछु रे बेकुफ मान्छे हरु ...

  •  0 Reply

तपाईको प्रतिक्रिया