सार्वजनिक गाडी चलाउने निर्देशिका अन्तिम चरणमा, माग सम्बोधन नभई गाडी नचलाउने पक्षमा व्यवसायी

 जेठ २६, २०७७ सोमबार १७:३४:३ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - सरकारले लकडाउन खुकुलो भएपछि सार्वजनिक गाडी चलाउनेबारेको निर्देशिका अन्तिम चरणमा रहेको जनाएको छ । 

लकडाउन खुलेपछि सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, एक सिट बिराएर यात्रु राख्नुपर्ने, स्यानिटाइजर प्रयोग गरेर भित्र पस्नुपर्ने, गाडीलाई कीटाणुरहित बनाउनुपर्ने, भाडा लिँदा विद्युतीय कारोबार गर्नुपर्ने, त्यो सम्भव नभए यात्रुले फिर्ता नलिने गरी भाडा दिनुपर्नेलगायतका बुँदा समेटेर निर्देशिका बनाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । 

उहाँका अनुसार भाडालगायत केही विषयमा अन्तिम छलफल गरेपछि निर्देशिका सार्वजनिक गरिने छ । सरकारले लकडाउन केही खुकुलो पारेसँगै उद्योग, कारखाना खुल्न थालेपछि सार्वजनिक यातायात पनि खुलाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उहाँको भनाइ छ । 

कोरोना सङ्क्रमणको जोखिम क्षेत्रको रुपमा यातायात क्षेत्र पनि रहेको भन्दै उच्च सावधानी अपनाउन निर्देशिका बनाएर कार्यान्वयन गर्न सरकार लागिपरेको महानिर्देशक हमालले बताउनुभयो । 

सार्वजनिक यातायातका साधन चरणबद्ध रुपमा खुलाउने तयारी छ । तर व्यवसायीले भने भाडा, मजदुर र यात्रुको सुरक्षालगायत विषयमा सरकारसँग प्याकेजमै सहमति गर्नुपर्ने बताएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यले हतारले गाडी चलाउँदा कोरोना सङ्क्रमण फैलिने जोखिम रहेको भन्दै सरकारसँग प्याकेजमा सहमति गरेपछि मात्रै गाडी सडकमा निकाल्ने बताउनुभयो । 

तत्कालै भाडा बढाउन आफूहरुले माग नगर्ने तर थोरै यात्रु बोक्दा घाटामा जाने भएकाले चालकको रोजगारीको प्रत्याभूतिसँगै स्वास्थ्य सुरक्षा, लगानी संरक्षणलगायतका कुरामा सरकारसँग प्याकेजमै सहमति हुनुपर्ने बताउनुभयो । 

ऋणको किस्ता तिर्ने समय बढाउनुपर्ने, रुट परमिटलगायत गाडीको नवीकरण सकिएकाहरुलाई नवीकरणको लागि लकडाउन खुलेको दिनदेखि तीन महिनाको समय दिनुपर्ने, यातायात मजदुर र यात्रुको सुरक्षाको जिम्मा लिनुपर्नेलगायतका माग सरकारले पूरा गर्नुपर्ने व्यवसायीको माग छ ।

यसबारेमा यातायात व्यवस्था विभागलाई पहिले नै जानकारी गराएपनि सुनुवाइ नभएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई आफ्नो मागसहितको पत्र बुझाउने तयारीमा रहेको महासङ्घले जनाएको छ । 

लकडाउन खुकुलो बनाउने योजनामा रहेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिलाई आफ्नो मागबारे जानकारी गराउने र प्याकेजमै सहमति भए गाडी चलाउने नत्र जोखिम मोलेर गाडी नचलाउने महासङ्घका अध्यक्ष कर्माचार्यको भनाइ छ ।

यस्तै व्यवसायीले लामो दूरीका गाडी चलाउन नहुने, सीमा बन्द गर्नुपर्नेलगायत माग बताएका छन् । अहिले नै लामो दूरीमा गाडी चलाउँदा कोरोना फैलिने जोखिम झन् धेरै हुने भएकाले छोटो दूरीमा नियम पालना गरेर गाडी चलाउनुपर्ने यातायात व्यवसायीको भनाइ छ ।


 

अन्तिम अपडेट: चैत १६, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया