बैतडी : कोरोना सङ्क्रमितलाई अस्पतालले घर पठाएपछि गाँउमा त्रास

 जेठ २७, २०७७ मंगलबार ११:५०:१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी -  सेती प्रादेशिक अस्पताल धनगढीले बैतडीका कोरोना सङ्क्रमितहरुलाइ कोरोना निको नहुँदै घर पठाएपछि गाउँमा कोरोनाको त्रास बढेको छ । 

जिल्लाको शिवनाथ गाउँपालिकाका ४ जनालाइ कोरोना निको नहँदै घर पठाएको हो । यसरी घर आउनेहरुमा वडा नम्बर१ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई घर पठाएको हो ।

यही जेठ २३ गते अस्पतालले कोरोना निको नहुँदै घर पठाएका उनीहरु चारै जना २५ गतेमात्रै घर पुगेका हुन् । कैलालीको गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीहरुमा यही जेठ १० गते कोरोना पुष्टि भएको थियो ।

अहिले सङ्क्रमितलाई ७ दिनसम्म होम क्वरेन्टीनमा बस्न भनिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताउनुभयो । यसरी कोरोना सङ्क्रमितलाई निको नहुँदै घर पठाउँदा गाउँमा स्थानीयमा त्रास बढेको उहाँले बताउनुभयो । 

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुले कोरोनालाई जितेपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । कोरोनाको खासै लक्षण नदेखिएको र जटिल स्वास्थ्य समस्या नभएका सङ्क्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।  

सेती प्रादेशिक अस्पतालले जेठ २३ गते बैतडीका ४ सहित ६ जना कोरोना सङ्क्रमितलाई  डिस्चार्ज गरेको थियो । बैतडीका ६ सङ्क्रमितमध्ये १ जना यसअघि बुधवार कोरोना जितेर जिल्ला अस्पताल बैतडीबाट डिस्चार्ज भइसकेका छन् भने १ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया