थन्क्याएर राखेको गाडी चलाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

 जेठ २८, २०७७ बुधबार ११:२१:३७ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै – सरकारले लकडाउन खुकुलो गर्दै जाने तयारी गरिरहँदा लामो समयसम्म थन्किएर बसेका केही गाडी गुडाउन पाइने भएको छ । तर के तपाईँले पार्किङ गरेर राखेको गाडी कस्तो अवस्थामा छ भनेर जाँचिरहनुभएको छ ? ख्याल गर्नुस्, नत्र काम विशेषले गाडी निकाल्नु परेमा समस्यामा पर्नु होला ।

लकडाउन जारी नै भए पनि सिप्रदी ट्रेडिङ प्रालीको टाटा मोटर्स, हुन्डाई, मारुती सुजुकी, महिन्द्रा, फोर्ड, रेनो, निसान, डाट्सन, किया, जीप, एमजीलगायतका ब्राण्डले आफ्ना सर्भिस सेन्टरहरु सञ्चालनमा रहेको जानकारी दिएका छन् ।

लामो समय थन्क्याएर राखेको गाडी चलाउँदा ध्यान दिनुपर्ने कुरा– 

१) गाडी लिएर निस्कने तयारी गर्दै हुनुहुन्छ भने त्यसको अवस्थाकाे बारेमा राम्रोसँग विचार गर्नुहोस् ।
२) गाडीमा केही समस्या देखियो भने तत्काल मर्मत गरेर मात्र प्रयोगमा ल्याउनुहोला । अहिले पनि गाडी बिक्रेता कम्पनीहरुले सर्भिस सेन्टर सञ्चालन गरिरहेका छन् ।

३) लकडाउन अवधिभरि गाडीको वास्ता गर्नुभएको छैन भने ब्याट्रीमा समस्या आउन सक्छ र स्टार्ट नहुन पनि सक्छ । बाहिर निस्कने समयभन्दा केही समयअघि नै जाँच गरिहाल्नुस् । गाडीको इन्जिन स्टार्ट गरी कुनै असामान्य आवाज छ कि जाँच गरौँ । गाडी स्टार्ट गरेको केही समयसम्म आरपीएम बढाउनु हुँदैन तथा इन्जिन बन्द गर्ने बेलामा पनि आरपीएम बढाउनु हुन्न ।

४) ब्याट्रीमा समस्या नहुँदा पनि गाडी स्टार्ट नभएमा मुसाले कतैको कनेक्सन छुटाएको हुनसक्छ, विचार गर्नुहोला । अरु समयमा पनि गाडीको सिसा बन्द गर्ने र डिक्की पनि बन्द नै राखियो भने मुसा छिर्ने डर हुँदैन । गाडीलाई मुसाले गर्ने हानीबाट बचाउन केही स्प्रे पनि प्रयोग गर्न सकिने मेकानिकहरु बताउँछन् ।

५) डिप स्टिकले इन्जिन आयलको लेभल चेक गरौँ र यदि कम भएमा थप गरौँ ।

६) लामो समयसम्म रोकेर राखेको गाडीको एसी नचलेको हुनसक्छ । एसीमा ध्यान दिनुहोला । 

७) कुनै गाडीमा भने लाइटमा समस्या आएको हुन्छ । यात्रा गर्नुपूर्व नै तपाईँ विश्वस्त हुनु जरुरी छ ।

८) टायरको अवस्था चेक गरौँ र सही टायर प्रेसरलाई कायम राखौँ ।
९) कुलेन्टको लेभल चेक गरौँ र यदि कम भएमा अधिकतम लेभलसम्म पुग्ने गरी थप गरौँ ।

१०) इन्टर कुलर तथा रेडियटरबाट कतै लिकेज भएको छ कि जाँच गर्नुहोस् ।

११) बाह्य वस्तुको प्रवेशबाट हुन सक्ने सम्भावित खतराको लागि एअर इनटेक प्रणालीको जाँच गनुहोस् ।

१२) काम विशेषमा बाहिर जाँदा सुरक्षाकाे लागि मस्क, पन्जा, चस्मा लगाउने र  आफ्नो गाडीलाई भित्र र बाहिर राम्ररी स्यानिटाइज गनुहोस् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया