महिलाका लागि छुट्टै क्वरेण्टीन चाहिन्छ

 जेठ २८, २०७७ बुधबार १३:३९:१४ | सुशीला गिरी
unn.prixa.net

बर्दिया जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला हो । यहाँ पनि कामको सिलसिलामा भारत गएकाहरु कोरोना भाइरसको त्रासले गाउँ फर्किएका छन् ।नेपालभित्रैबाट गाउँ फर्कनेहरुकोे सङ्ख्या पनि उत्तिकै छ । स्वदेश र विदेशबाट गाउँ फर्किने बढेसँगै क्वरेण्टीनको सङ्ख्या बढाउनुपर्यो । गुलरिया नगरपालिकामा रहेका क्वरेण्टीनको अवस्था के छ भन्नेबारे हामी वैशाखको अन्तिम साता सबै क्वरेण्टीनमा पुग्यौँ । कोठाको अभावले एउटै कोठामा तीन जना पुरुष, एक महिला राख्ने गरेको पाइयो । यसले हिंसा हुने जोखिम बढेपछि मलार्ई राम्रो लागेन ।

कुनै क्वरेण्टीनमा पुरुष ५०, महिला दुई, कुनै क्वरेण्टीनमा पुरुष ३०, महिला तीन यस्तै भेटियो । महिला कम हुँदा उनीहरुलाई पुरुषसँगै बस्न समस्या भएको महसुस भयो । लगत्तै कार्यपालिकामा बैठक बोलाएँ । जेठ ५ गते बैठक बसेर छुट्टै क्वरेण्टीन सञ्चालन गर्नुपर्छ भन्ने निर्णय भयो । यसमा सबै सहमत भए । त्यसपछि बल्ल हामीले महिलाको लागि अलग्गै क्वरेण्टीन बनाएका हौँ । 

भान्सेदेखि स्वास्थ्यकर्मी महिला

गुलरिया नगरपालिका वडा नम्बर ४ मा रहेको कोटही माविलाई महिला क्वरेण्टीन बनाइएको छ । अहिले क्वरेण्टीनमा ५० जना महिला छन् । त्यहाँ अहिले भान्सेदेखि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि महिला  छन् । 

हामीले सरकारको मापदण्डअनुसार क्वारेन्टीनमा राख्न नसकेपनि आफूले सकेजति राम्रो बनाउने प्रयास गरेका छौँ । एउटा कोठामा दूरी कायम गरी तीन÷चार जनालाई मात्रै राखेका छौँ । सय जनाको क्षमता रहेको विद्यालयलाई महिलाको लागि क्वरेण्टीन बनाएका छौँ । 

महिला क्वरेण्टीनले सहज

पहिले पुरुषसँग क्वरेण्टीनमा बसेका महिलालाई अहिले सहज भएको छ । पुरुषसँगै हुँदा शौचालय प्रयोगदेखि हरेक कुरामा समस्या हुने गरेको थियो । क्वरेण्टीनमा बस्ने महिलालाई महिनावारी हुँदाको समस्या अर्कै छ । सबै जना भारतबाट आएको हुँदा न प्याड छ, न कुनै कपडा नै । हामीले उनीहरुलाई प्याड वितरण गरेका छौँ । अहिले उनीहरुलाई के, कस्तो समस्या छ भन्ने विषयमा दिनहुँ कुरा भइरहन्छ । यसैले पनि महिलालाई सहज भएको छ ।

महिलाको समस्या फरक 

मैले दिनहुँ समाचार हेर्छु, पढ्छु । क्वरेण्टीनमा महिलालाई मात्र होइन, पुरुषलाई पनि समस्या भएको छ । तर, महिलाको समस्या फरक हुन्छ । महिलाले बस्दा, खाँदा, बोल्दा पनि ध्यान दिनुपर्छ । उत्तिकै जोखिम मोल्नुपर्छ ।

आफ्नै परिवारभित्र महिला असुरक्षित भइरहेको बेला क्वरेण्टीनको के कुरा गर्ने । महिलाका समस्या बुझेर जसरी मैले कार्यपालिकाको सहयोगमा अलग महिला क्वरेण्टीन बनाएँ । त्यसैगरी अन्य उपप्रमुख महिलाले पनि आआफ्नो पालिकामा यस्तै क्वरेण्टीनको व्यवस्था गर्नुपर्छ ।

कतिपय पालिकामा महिलाका लागि क्वरेण्टीन बनेका होलान् । तर त्यहाँ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पुरुष छन् भने पनि महिलालाई समस्या हुन्छ । आफ्नो नगर वा गाउँपालिकाका महिलाहरुको समस्या महिला उपप्रमुखजस्तै पुरुष प्रमुखले बुझ्न सक्दैनन् । त्यसैले म सबै उपप्रमुख वा उपाध्यक्षलाई क्वरेण्टीनमा रहेका महिलाका कुरा सुन्न आफ्नो पालिकाका क्वरेण्टीनमा पुग्न अनुरोध गर्दछु । तपाईंहरुले आँट्नु भयो भने नागरिक समाज, विभिन्न एनजिओ र आइएनजिओहरुले तपाईंको काममा पक्कै पनि साथ दिनेछन् ।

(उपप्रमुख गिरीसँग इन्द्रसरा खड्काले गर्नुभएको कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: चैत २१, २०८०

सुशीला गिरी

गिरी बर्दियाको गुलरिया नगरपालिकाकी उपप्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया