कुवेतबाट बिहीबार मात्रै उडान हुने निश्चित, नेपालीलाई लिएर दुईवटा जहाज काठमाण्डौ आउने

 जेठ २८, २०७७ बुधबार १५:२६:११ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – कुवेतमा आममाफीमा सहभागी नेपालीलाई लिएर बुधबार काठमाण्डौ आउने भनिएका दुईवटै जहाजको उडान बिहीबार मात्रै हुने भएको छ ।

जजिरा एअरलाइन्सले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई लिएर बिहीबार नेपाल आउन उडान तालिका निश्चित गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार बिहान ११ बजेर ३० मिनेमा एउटा र १२ बजेर ३० मिनेटमा अर्को जहाज नेपाल आइपुग्नेछन् ।

कोभिड १९ क्राइसिस् म्यानेजमेण्ट कमिटी सीसीएमसीले मंगलबार कुवेतमा आममाफीमा सहभागी भएका तीनसय जना नेपाली महिलालाई ल्याउन अनुमति दिएको थियो । तर मंगलबार साँझ कुवेतमा रहेको नेपाली दूतावासलाई एउटा मात्र उडान बुधबार हुने भनेर जानकारी गराइएको थियो ।

कुवेतले भिसा नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा जरिवानामा परेका नेपालीसहित विभिन्न देशका विदेशी नागरिकलाई आममाफी दिएको छ । अन्य देशका नागरिक आफ्नो देश फर्किसकेको भए पनि गएको अप्रिलदेखि आममाफीमा सहभागी भएका नेपालीहरु भने कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै आममाफीमा सहभागीलाई खाद्यान्न लगायतको व्यवस्था गरेको छ ।

कुवेत सरकारले उनीहरुलाई आफ्नो जहाजमार्फत निःशुल्क ल्याइदिने दूतावासले जनाएको छ । कुवेत यसअघि नै नेपालीलाई ल्यादिन तयार भए पनि नेपालले अनुमति दिएको थिएन ।

कुवेतका लागि नेपाली राजदूत दुर्गा भणडरीका अनुसार कुवेतमा आममाफीमा सहभागी भएका र डिपोर्टटेसन सेन्टरमा रहेकालाई अहिले कुवेतले नै नेपाल पठाइदिने छ । नेपालले अनुमति दिएमा कुवेतले दिनमा तीनभन्दा बढी उडान समेत भर्न सक्नेछ । यसरी स्वदेश फर्कने २९९१ जनाकाे सूचि दूतावासले परराष्ट मन्त्रालयलाई पठाइसकेकाे छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया