कालीकाेट टिप्पर दुर्घटना : ज्यान गुमाउने तीन जनाकै परिचय खुल्याे

 जेठ २९, २०७७ बिहिबार १०:१९:३४ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालीकाेटमा भएकाे टिप्पर दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै परिचय खुलेकाे छ ।

घटनास्थलमै मुत्यु हुनेमा रास्कोट २ की २३ वर्षीया शर्मिला सार्की र २१ वर्षीया थुम्की सार्की रहेका छन् भने रास्कोट नगरपालिका-२ की २० वर्षीया निस्पता सार्कीको काठमाण्डौकाे किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

नरहरिनाथ-१, कर्णाली नदीको तिरमा पर्ने लालीघाटमा बुधबार बिहान भएकाे टिप्पर दुर्घटनामा टिप्परमा रहेका ३९ जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियाे ।

टिप्पर दुर्घटनामा घाइते भएका ८ जनामध्ये २ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाण्डाै लगिएकोमा निस्पता सार्कीको मृत्यु भएको र अर्का घाइते २८ वर्षीय मिन सार्कीको उपचार भइरहेको छ ।

अन्य घाइतेहरु ३५ वर्षका प्रजे सार्की, ३५ वर्षीया अनिता सार्की, १८ वर्षीय विवेक सार्की, १४ वर्षका अशोक परियार, १८ वर्षका गोविन्द सार्की र ३ महिने एक शिशुकाे जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।  टिप्पर कर्णाली करिडोर सडकबाट झण्डै ३० मिटर तल नदीमा खसेको थियाे ।

दुर्घटनामा रास्कोट-२ कै ३१ वर्षीया मन्ना कुमाल र २ वर्षीया बालिका काली सार्की बेपत्ता छन् । घर फर्केका १३ महिला र २६ पुरुषलाई क्वरेन्टीनमा राख्न रास्कोट नगरपालिकाको ना ८ ख ५१३३ नम्बरको टिप्परमा लैजाने क्रममा टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको थियाे ।

चालकले स्टार्ट बन्द नगरी हिँडेपछि दुर्घटना : प्रहरी 

क्वरेन्टीनमा राख्न टिप्परमा राखेर लैजाने क्रममा ठाउँ साँघुरो भएकाे विषयमा टिप्पर चालक र स्थानीय बीच विवाद भएको थियो । विवाद हुँदा टिपर चालकले स्टार्ट बन्द नगरी ओर्लेर हिँडेपछि टिप्पर कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकको लापर्वाही देखिएको डीएसपी श्यामबाबु ओलियाले बताउनुभयाे ।

टिप्पर छाडेर भागेका रास्कोट-८ का चालक रंगनाथ धमलालाई प्रहरीले सान्नीगाडबाट पक्राउ गरेको छ । दुर्घटनाको यकिन कारण नखुले पनि चालकलाई यात्रुले ठाउँ साँघुरो भयो भनेर हातपात गरेपछि चालकले टिप्पर छाडिदिएको हुनसक्ने नगरप्रमुख काशीचन्द्र बरालले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया