कोरोनाको मौका छोपेर दोब्बरदेखि तेब्बरसम्म मूल्यवृद्धि गर्ने पसल कारबाहीमा

 जेठ २९, २०७७ बिहिबार २०:४५:४० | उषा तामाङ
unn.prixa.net

दोलखा - उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गर्ने दोलखाका आठ वटा पसल तथा उद्योग जरिबानामा परेका छन् । 

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समितिका संयोजक सुदर्शन श्रेष्ठको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा दोलखा दुग्ध उद्योग, दुई वटा बेकरीसहित पाँच वटा खाद्यान्न पसल कारबाहीमा परेका हुन् । 

दोलखा दुग्ध उद्योग लिमिटेडले दैनिक बजारमा बिक्री वितरण गर्ने दूधको मूल्य तथा उत्पादन मिति नतोकी बिक्री वितरण गरेको थियो । त्यसैगरी दुई वटा बेकरीमध्ये चरिघ्याङको एउटा बेकरीमा ४५ दिनअघि नै म्याद सकेको ५८ बोरा मैदा जफत गरेको छ । अर्को बेकरीले दुनोटलगायतको मूल्य, उत्पादन मिति नतोकी बजारमा बिक्री गरेको पाइएको छ । 

कारबाहीमा परेका अन्य पाँच वटा खाद्यान्न पसलमा मूल्यसूची नराखेको, दर्ता प्रमाण पत्र नराखेको, सामान बिक्री गर्दा बिल प्रयोग नगरेको पाइएको छ । विशेषगरी फलफुलसहितका अन्य दैनिक उपभोग्य खाद्य वस्तुमा दोब्बरदेखि तेब्बरसम्म मूल्यवृद्धि गरेर बिक्री गरेको अनुगमन समितिले पाएको थियो । 

कारबाहीमा परेका व्यवसायीलाई कम्तीमा १० हजारदेखि ५० हजारभन्दा माथिसम्म जरिबना गरिने बताइएको छ । कारबाहीमा परेकाहरुलाई कारणसहित तीन दिनभित्र सम्बन्धित निकायमा आउन भनिएको छ । 

उनीहरुलाई ऐन बमोजिम जरिबाना गरिने अनुगमन समितिका सदस्य सचिव एवम् घरेलु तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख सुजितकुमार झाले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालय दोलखा, घरेलु तथा साना उद्योग कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरसको फाइदा लिइ मूल्यवृद्धि नगर्न अनुरोध गरेको थियो । 

कालोबजारी नरोकिएपछि आजबाट अनुगमन समिति कडा रुपमा प्रस्तुत भएको हो । कोरोना भाइरसको सङ्क्रमणले उत्पन्न भएको असहज परिस्थितिको अनुचित फाइदा लिने कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।

व्यापारीले कालोबजारी गरेमा प्रमाणसहित जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्नसमेत सम्पूर्ण उपभोक्तालाई अनुरोध गरिएको छ । 

बजार अनुगमनमा संयोजक सुर्दशन श्रेष्ठसहित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख सुजितकुमार झा, दोलखाका प्रहरी निरीक्षक रेशम बोहरा, उपभोक्ता संरक्षण मञ्च दोलखाका अध्यक्ष शम्भु गौतमलगायत सहभागी थिए । 

अन्तिम अपडेट: चैत २९, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया