विदेशबाट श्रमिक सोध्छन् : खान त समस्या छ, चार्टर्ड उडानको महङ्गो भाडा कसरी तिर्नु सरकार ?

 जेठ ३०, २०७७ शुक्रबार १७:५६:१८ | बेदानन्द जाेशी

काठमाण्डौ –  मलेसियामा तीन महिनादेखि बेरोजगार भएका गोपाल कोइरालालाई घर फर्कनेबाहेक अर्को विकल्प छैन । उहाँ तीन महिनादेखि घर फर्कने बाटो हेरेर बसिरहनुभएको छ । बुधबार सरकारले उडान तालिका र भाडा दर सार्वजनिक गर्‍यो । समाचारको हेडलाइन पढेर गोपाल खुसी हुनुभयो । बिहीबार मलेसियाबाट नेपाल फर्कनेको सूचीमा दूतावासले नाम सार्वजनिक गर्‍यो । त्यो सूचीमा आफ्नो नाम देख्दा उहाँका ओठ हर्षले मुस्कुराए ।

तर त्यो मुस्कान क्षणभर पनि टिकेन । सूचीमा परेको आफ्नो नाम सँगसँगै जब उहाँको नजर फ्लाइटको टिकट शुल्कमा पर्यो, उहाँको ओठको हाँसो उडेर गयो ।
‘उद्धार गरिने हरुको सूचीमा मेरो नाम पनि परेकोमा केही हदसम्म खुुसी नै लाग्यो, तर प्लेन टिकेटको लागि त्यति धेरै पैसा मैले कहाँबाट ल्याउनु’, गोपाल भन्नुहुन्छ, ‘आफूसँग  पैसा छैन, कम्पनीले टिकट किनिदिने हो कि होइन भन्ने पीरले सताउन थालेको छ ।’

बुधबार मलेसियामा रहेको नेपाली दूतावासले उद्धारको लागि प्राथमिकतामा परेका एक हजार ५ जनाको सूची सार्वजनिक गर्यो । सूचीमा नाम परेपछि गोपाल पनि दंग पर्नुभयो । ‘तर मलेसियाबाट नेपाल फर्कन पहिलेकोभन्दा दोब्बरजस्तो मूल्य २२ सय २० मलेसियन रिंगिट तिरेर प्लेनको टिकेट कसरी काट्ने ?’ गोपाल चकित पर्नुभएको छ । 

२२ सय २० मलेसियन रिंगिटकोे करिब ६३ हजार नेपाली रुपैयाँ हुन्छ । सामान्यतया आउनजानकै दोहोरो हवाइ भाडा ४० हजार रुपैयाँ भन्दा बढी नतिरेका वा त्यो भाडा पनि ऋण मागेर तिर्नुपर्ने अवस्थाका श्रमिकलाई स्वयं समस्यामा परेको बेला सरकारले तोकेको यो भाडादरले चकित पार्नु स्वभाविक नै हो । 

मलेसियामा मात्र होइन ३० देशका २४ हजार १४८ नेपाली नागरिक सरकारको पहिलो चरणको प्राथमिकतामा परेका छन् । गन्तव्य देशमा अवैधानिक भएका, गर्भवती, बिरामी तथा रोजगारी गुमाएकाहरुलाई सरकारले पहिलो प्राथमिकतामा राखेर स्वदेश ल्याउँदैछ । सबै देशबाट फर्किनेहरुको लागि सरकारले हवाइ भाडा दर पनि अलग अलग तोकिसकेको छ । खाडीका देश तथा मलेसियाबाट नेपाल आउनको लागि कम्तिमा पाँचसय अमेरिकी डलरदेखि ७ सय ७० अमेरिकी डलरसम्म हवाइ भाडा तोकिदिएको छ ।

तीन महिनाको लकडाउनमा परदेशमा रहेका धेरैले रोजगारी गुमाएका छन् भने कतिले काम गरेको पनि तलब पाएका छैनन् । आफूसँग भएको पैसा पनि यो अवधिमा खान बस्नमा खर्च भइसकेको अवस्था छ । यस्तो संकटको बेला उद्धार गरेको भन्दै सरकारले हवाइ भाडाको नाममा यति मोटो रकम उठाउँदा वास्तविक पीडितको भने चित्त दुखेको छ । 

‘सरकारले उद्धार गरेको हो कि व्यापार गरेको हो’ अचम्म मान्दै मलेसियाबाट रामु किराँती सोध्नुहुन्छ, ‘के हाम्रो देशको समाजवाद भनेको यही हो ?’

साउदीबाट श्रमिक भन्छन्, ‘अब यतै ज्यान जाला जस्तो छ’

सरकारले तोकेको हवाइ शुल्क अनुसार मलेसिया तथा खाडीका देशमध्ये सबैभन्दा महंगो भाडादर साउदीको छ । साउदीको रियादबाट फर्किनेलाई ६३० अमेरिकी डलर र जेद्दाबाट फर्किनेहरुले ७२० अमेरिकी डलर लाग्ने छ । यसको नेपाली ९२ हजार भन्दा बढी रकम हुन आउँछ । तर साउदीमा गएको चार महिनादेखि केही पनि काम नगरी बसेकाहरुलाई यति धेरै रकम जुटाउन निकै समस्या भएको छ ।

साउदीबाट प्रदिप भट्ट लेख्नुहुन्छ, ‘हवाइ भाडा शुल्क यति धेरै तोकेर के सरकारले हामीलाई स्वदेश फर्किनबाट रोकेको हो ?’

आफू तीन महिनादेखि केही पनि काम नगरेर बसेको भन्दै प्रदिप आफ्नो नाम सूचीमा परे पनि यति धेरै रकम तिरेर आफू स्वदेश फर्किन नसक्ने बताउनुहुन्छ । साउदी दूतावासले स्वदेश फर्किनुपर्ने एकदमै समस्यामा रहेका नेपाली श्रमिकको सङ्ख्या १० हजारभन्दा बढी रहेको जनाएको थियो । तर तिमध्येबाट पनि  ३३ सय १२ जना पहिलो प्राथमिकतामा परेका छन् ।

दूतावासका अनुसार उनीहरुमध्ये धेरैजसो खान बस्न नै धौधौ भइरहेको अवस्थामा छन् । यस्तो अवस्थामा यति धेरै शुल्क तिरेर उनीहरु नेपाल फर्किन नसक्ने प्रष्ट हुन्छ ।

‘अब यतै ज्यान जाला जस्तो छ, न खाना छ न बस्ने ठेगान छ’, साउदीबाटै रमेश सुनुवार आफ्नो दुखेसो पोख्नुहुन्छ ।

कुवेतबाट कोही सशुल्क कोही निःशुल्क

कुवेतबाट दुई हजार ९९१ जना नेपाली स्वदेश फिर्तीको सूचीमा परेका छन् । यो कुवेत सरकारको आममाफीको सूचीमा परेका र त्योबाहेकका समस्यामा परेका नेपाली श्रमिकको सङ्ख्या हो । जसमध्ये आममाफी पाएका तीनसय जना बिहीबार र १४२ जना शुक्रबार स्वदेश फर्किसकेका छन् ।

नेपाल सरकारले कुवेतबाट फर्किनको लागि एकजनाको हवाइ भाडा ५७० अमेरिकी डलर तोकेको भए पनि कुवेत सरकारले आममाफीमा परेका नेपालीलाई आफ्नै खर्चमा नेपाल फर्काएको छ । तर तीबाहेक अरु विभिन्न समस्या खेपिरहेका र लामो समयदेखि काम, तलब नभएर खाली हात बसेकाहरु यति धेरै रकम कहाँबाट खोज्ने भनेर चिन्तित छन् ।

कुवेतबाट मनिलाल खड्का उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, ‘म पनि आममाफीमा परेको भए घर फर्किन गाह्रो नहुने रहेछ, गल्ती नगरेर बसियो अहिले घर फर्किनै समस्या भयो ।’

ओमानमा रहेको नेपाली दूतावासले घटायो भाडादर

नेपाल सरकारले ओमानबाट फर्किनेको लागि ५२० अमेरिकी डलर भाडादर तोेकेको छ । जसको नेपाली विनिमयदर ६२ हजार तीनसय रुपैयाँ हुन्छ । तर ओमानमा समस्यामा परेका नेपाली श्रमिकले त्यति धेरै भाडा दर बहन गर्न नसक्ने भन्दै असन्तुष्टी जनाएपछि दूतावासले भाडादर घटाउने निर्णय गरेको छ । 

असार १ गतेको उडानको लागि सलाम एयरमार्फत नेपालीलाई स्वदेश फिर्तीको लागि ११५ ओमानी रियाल अर्थात ३६ हजार ४८६ रुपैयाँ भाडादर तोकेको छ  ।

यूएईबाट पनि पैसा हुनेहरु मात्र फर्किन पाए 

जेठ २३ गते यूएईबाट १५७ जना नेपालीलाई लिएर एयर अरबियाको जहाज त्रिभुवन विमानस्थलमा आइपुग्यो । 

यूएई सरकारले सित्तैमा नेपाल पुर्याउने भनेपछि ढुक्क भएका नेपाली श्रमिक शुल्क लिएर मात्र नेपाल पठाउने भन्ने यूएई सरकारको रातारातको निर्णयपछि हतास भए । त्यसपछि जेठ २३ गते जानको लागि ठिक्क परेका गोरखाका अमित भुजेल आफूसँग पैसा नहुँदा फर्किन पाउनुभएन ।

उहाँजस्तै नेपाल फर्किने आशामा सारजहा पुगेका धेरै नेपाली निराश भएर कोठा फर्किए । जोसँग पैसा थियो उनीहरु टिकट काटेर नेपाल फर्किए र जोसँग थिएन उनीहरु निराश भएर कोठा फर्किए । 

नेपाल सरकाले यूएईबाट फर्किनको लागि ५ सय अमेरिकी डलर भाडा तोकेकोे छ । यूएईबाट ४१० जना समस्यामा परेका नेपालीहरु सरकारको पहिलो प्राथमिकतामा परेका छन् । अब यूएईबाट उडान असारको २, ४, ६ र ९ गतेलाई तोकिएको छ । तर यति धेरै भाडा तिरेर आफूहरु नेपाल फर्किन नसक्ने धेरैको गुनासो छ । 

यस्तै समस्या कतार र बहराइनबाट फर्किने नेपाली श्रमिकहरुलाई पनि परेको छ । लकडाउन हुनुभन्दा पहिले नै करारको अवधि सकिएर नेपाल फर्किनको लागि अप्रिल १४ को टिकट लिइसकेका दिनेश कुस्मी अहिले अन्यौलमा हुनुहुन्छ । टिकट काटेकाहरुलाई त सरकारले नियमित उडानमार्फत ल्याइन्छि कि भनेर आशमा बस्नुभएका दिनेश सरकारले नै यति धेरै भाडा (५४५) तोकेपछि आश्चर्यमा पर्नुभयो ।

चार महिनादेखि बेरोजगार रहनुभएका दिनेशसँग खान बस्नको लागि पनि पैसा छैन । भएको टिकट पनि काम नआएपछि उहाँसँग स्वदेश फर्किने अरु विकल्प नै छैन । ‘नेपाल सरकारले उद्धार गर्ने भनेको पैसा हुनेहरुलाई मात्र रहेछ’ उहाँ आक्रोश पोख्नुहुन्छ ।

नियमित उडानमार्फत ल्याए सजिलो हुने 

मलेसियामा रहनुभएका श्रीराम गौतमसँग नेपाल फर्किनकाे लागि असार ३ गतेको मालिन्डो एअरको टिकट थियो । लकडाउन हुनुभन्दा पहिले नै श्रीराम कार्यरत कम्पनीले दिएको टिकट सरकारले आफ्नै चार्टड विमानमार्फत उद्धार गर्ने भनेपछि अहिले काम नलाग्ने भएको छ । 

उहाँसँग सरकारले तोकेअनुसार टिकट काट्ने पैसा छैन । कम्पनीले पनि एकपटक काटिसकेको टिकट फेरि दिंदैन । आफूसँग टिकट हुँदाहुँदै पनि नेपाल फर्किन नपाएको भन्दै श्रीराम भन्नुहुन्छ, ‘यति महँगो शुल्क तिरेर कसरी नेपाल फर्किने ?, मजस्ता पहिले नै टिकट लगिसकेका हरुलाई नियमित उडानमार्फत फर्किन दिनुपर्छ ।’

मलेसिया लगायत खाडीका विभिन्न देशका नेपाली राजदूत पनि सरकारले व्यावसायिक उडान सुरु गरे श्रमिकलाई सजिलो हुने बताउनुहुन्छ । 

पहिले नै टिकट लिइसकेकाहरुलाई पुनः मिलाएर अर्को ठाउँमा टिकट लिने कुरा निकै जटिल भएको भन्दै त्यस्ता व्यक्तिहरुको लागि नियमित उडानलाई सञ्चालनमा ल्याउनुपर्ने कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज बताउनुहुन्छ ।

‘मार्चको २३, २४, २४ तिरको टिकट काटेर नेपालको लकडाउनका कारण फर्कन नपाएकाहरु पनि धेरै हुनुहुन्छ’ राजदूत नारदनाथ भारद्वाज भन्नुहुन्छ, ‘कतिपयको त उहाँहरु कार्यरत कम्पनी आफैले टिकट काटिने भनेका छन्, तर त्यस्ता कम्पनीहरुले महंगो भाडा तिरेर चार्टर्ड जहाजमा पठाउन चाहँदैनन ।’

यस्तै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे व्यवसायिक उडान खुला भयो भने हवाइ कम्पनीहरु प्रतिस्पर्धामा आउने र उनीहरुले आफ्नो मूल्य तोक्ने हुँदा चार्टड गरेको जहाजको भन्दा भाडा सस्तो पर्ने बताउनुहुन्छ ।

‘त्यसो भयो भने घर जानुपर्नेहरु सम्बन्धित विमान कम्पनीसँग कुरा गरेर आफू सजिलै जान सक्छन्, जसले गर्दा धेरै खालका जटिलताहरु उत्पन्न हुँदैन थिए’, राजदूत पाण्डेको भनाइ छ ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया