बाँकेको नरैनापुरमा कोरोना सङ्क्रमितकाे सङ्ख्या शून्यमा झर्‍याे

 जेठ ३१, २०७७ शनिबार १७:८:२२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको नरैनापुर क्षेत्रमा कोरोना सङ्क्रमणको सङ्ख्या शून्यमा झरेको छ ।

एक जना मृतकसहित एक सय १८ जनामा कोरोना सङ्क्रमण देखिएको गाउँपालिकामा आइसोलेशनमा रहेका सबै सङ्क्रमित घर फिर्ता भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठले जानकारी दिनुभयो । 

नरैनापुरमा जेठ पहिलो हप्ता सङ्क्रमण देखिएको थियाे । क्वरेण्टीनमा बसेको अवस्थामा ज्यान गुमाएका एक युवामा पनि सङ्क्रमण पुष्टि भएकाे हाे ।क्वरेण्टीनमा पीसीआर परीक्षण बढाउँदै जाँदा सङ्क्रमित बढ्न थालेपछि जेठ ५ गते जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गरेको थियो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुम्बाङले सबै पक्षको सक्रियताले कोरोना सङ्क्रमण शून्यमा झार्न सकिएको बताउनुभयो । कोरोना सङ्क्रमण शून्यमा झरेपछि प्रशासनले निषेधित क्षेत्र हटाउने तयारी गरेको छ । बाँकेको राप्ती सोनारी र डुडुवा गाउँपालिकामा रहेको आइसोलेसनबाट शनिबार ३२ जना डिस्चार्ज भएका छन् । 

बाँकेमा शनिबारसम्म कुल सङ्क्रमितमध्ये एक सय ९६ जना सङ्क्रमण जितेर घर फिर्ता भएका छन् । एक सय १७ जनाको अहिले विभिन्न अस्पताल र एकान्तवास केन्द्रमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: चैत २१, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया