कर्णाली प्रदेश : कोरोना रोकथाममा २५ करोडभन्दा बढी खर्च

 असार १, २०७७ सोमबार ९:४९:३७ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारमा अहिलेसम्म साढे २५ करोड रूपैयाँ खर्च गरेको छ । 

प्रदेश विपद् व्यवस्थापन कोषमार्फत सरकारले २५ करोड ६८ लाख ८३ हजार चार सय २८ रूपैयाँ खर्च गरेको जानकारी दिएकाे हाे ।

कोरोना प्रतिकार्य, रोकथाम तथा नियन्त्रणलाई लक्षित गरी प्रदेश सरकारले विपद् कोष स्थापना गरेको थियो । उक्त रकम स्वास्थ्य पूर्वाधार निर्माण, कोरोना परीक्षण, उद्धार, क्वरेन्टीन व्यवस्थापन, स्वास्थ्य सुरक्षा सामग्री खरिद लगायतमा खर्च भएको प्रदेश सरकारले जानकारी दिएको छ ।

कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् कोषमा २७ करोड १९ लाख ३५ हजार ६९ रूपैयाँ जम्मा भएको थियो । निजी क्षेत्रबाट उक्त कोषमा दुई करोड २४ लाख ३५ हजार पाँच सय ७९ रूपैयाँ सहयोग भएको थियो । अरु रकम प्रदेश सरकार आफैले जम्मा गरेको हो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव विनोदकुमार गौतमका अनुसार हाल कोषमा एक करोड ५१ लाख ५२ हजार एक सय रूपैयाँ बाँकी छ । प्रदेश सरकारले आवश्यकता अनुसार रकम जम्मा गर्ने गरी सुरुमा ५० करोडको विपद् कोष स्थापनाको घोषणा गरेको थियो ।

प्रदेश विपद् व्यवस्थापन केन्द्रको निर्णय अनुसार प्रदेश सरकारले १० वटै जिल्ला विपद् व्यवस्थापन समितिलाई ५०-५० लाखका दरले पाँच करोड र ७९ स्थानीय तहलाई १३ करोड रूपैयाँ उपलब्ध गराएको छ । उक्त रकम प्रत्येक स्थानीय तहलाई १५ देखि ३० लाख रूपैयाँका दरले वितरण गरिएको थियो । 

प्रदेश राजधानीको वीरेन्द्रनगर नगरपालिलाई ३० लाख, अन्य नगरपालिकाहरूलाई २० लाख र गाउँपालिकाहरूलाई १५ लाखका दरले सरकराले रकम उपलब्ध गराएको हो ।  

स्थानीय तहलाई दिइएको रकम नागरिकहरूको उद्धार, क्वरेन्टीन व्यवस्थापन लगायतमा खर्च भएको सरकारका प्रवक्ता एवं भूमि व्ययवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो । उहाँले कोरोना नियन्त्रणमा संघीय सरकारबाट प्रदेश सरकारलाई नगद रकम नभइ केही स्वास्थ्य सामग्रीहरू मात्रै सहयोग प्राप्त भएको बताउनुभयोे । 

यस्तै प्रदेश सरकारले नेपाली सेनालाई दुई करोड पाँच लाख दिइएको थियो । उक्त रकम वीरेन्द्रनगरको खुल्लामञ्चमा बनाइएको क्वरेन्टीन व्यवस्थापनमा खर्चिएको हो । 

यस्तै क्वारेन्टीनमा रहेका र उद्धार गर्दा ६० लाखको खाना खुवाइएको छ । उक्त व्यवस्थापनका लागि कोष मार्फत उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई ६० लाख  रुपैयाँ उपलब्ध गराइएको थियो । 

भारतबाट आएका नागरिकको उद्धार गर्दा र क्वारेन्टीनमा रहेकालाई घरसम्म पुर्‍याउन यातायातमा मात्रै अहिलेसम्म ४२ लाख ८३ हजार चारसय २८ रुपैयाँ खर्च भएको छ । यातायात खर्च व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई १० लाख र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई यातायातका लागि ३२ लाख ८३ हजार चारसय २८ रुपैयाँ उपलब्ध गराइएको थियो । 

यस्तै विपद् कोष मार्फत क्वारेन्टीन, आइसोलेशन लगायत स्वास्थ्य पुर्वाधार तयार  र उपचारका लागि मन्त्रालयलाई चार करोड २५ लाख उपलब्ध गराइएको थियो । मन्त्रालय मार्फत  प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सामुदायिक अस्पताल चौरजहारी रुकुमपश्चिम र केही जिल्ला अस्पताललाई बजेट उपलब्ध गराइएको थियो ।  

यस्तै सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका समाग्री खरिदका लागि १५ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई १० लाख र सशस्त्र प्रहरीलाई पाँच लाख उपलब्ध गराइएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया