‘कृषिलाई व्यवसायिक बनाउन नयाँ अवसर आएको छ’

 असार १, २०७७ सोमबार १२:४८:११ | लक्ष्मण कार्की
unn.prixa.net

काठमाणडाै - नेपालमा कृषिको आधुनिकीकरण, विविधिकरण र व्यापारिकरणको कुरा वर्षौंदेखि उठिरहेको छ ।

उत्पादकत्व वृद्धि गरी कृषिको क्षेत्रमा युवाको आकर्षण बढाउने योजनाहरु सरकारले बर्सेनि बनाउने गरेको छ । तर अझै पनि कृषि क्षेत्रको रुपान्तरण भने हुन सकेको छैन ।  

उत्पादकत्व खासै बढ्न नसक्नु, आधुनिकीकरण र व्यवसायीकरण हुन नसक्नु, मलबीउको उपलब्धतादेखि बजारमा किसानको सहज पहुँच नहुनु जस्ता कारणले कृषि आर्जनको होइन, जीविकोपार्जनको मात्र क्षेत्र बनेको छ ।

यसले गर्दा कृषि अझै पनि आकर्षणको होइन, हेयको क्षेत्रकै रुपमा रहेको छ । अब कोभिड १९ पछि नेपालमा पनि कृषि क्षेत्रमा आकर्षण बढाउने, रोजगारी बढाउने र उत्पादन बढाई परनिर्भरता कम गर्न सकिनेबारेमा चर्चा हुने गरेको छ ।  

यसका लागि सरकारले के तयारी गरिरहेको छ भन्नेबारे साथी लक्ष्मण कार्कीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना महाशाखाका प्रमुख सहसचिव राजेन्द्र मिश्रसँग कुराकानी गर्नुभएको छ । 

कोभिड १९ ले धेरै नकारात्मक प्रभाव पारेको छ, तै पनि यसको महामारी सकिएपछि कृषि क्षेत्रलाई उत्पादन रोजगारी लगायत हिसाबले आकर्षक क्षेत्र बनाउन सकिन्छ भन्ने चर्चाहरु भइरहेका छन् । यसका लागि सरकारले के कस्ता योजना बनाइरहेको छ ? 

कोभिड १९ पछिको कृषिको कुरा गर्दा कृषि युवा श्रमको कुरालाई जोड्नैपर्छ  । धेरै युवा श्रमशक्ति विदेशबाट फर्किने अवस्था छ । यस क्रममा उनीहरु फेरि विदेश जान पनि सक्छन् वा उनीहरु यतै रहन पनि सक्छन् । आन्तरिक बजारमा उद्योगधन्दा पर्याप्त नभएकाले कृषि क्षेत्रले नै उनीहरुलाई  इन्गेज गराउने क्षेत्रका रुपमा रहेको छ । यसका केही अवसर र केही चुनौती पनि छन् ।

कृषि तथा पशुपन्छी​ विकास मन्त्रालयले गरिरहेको योजना चाहिँ के हो त यसलाई अवसरका रुपमा उपयोग गर्न ?

अहिले हामीसँग तीन तहका सरकार छन् । विदेशबाट फर्केर आउने व्यक्ति सिधै ठोक्किने भनेको स्थानीय तहसँग हो । कृषिमा पनि हामी स्थानीय तहले बढी युवालाई परिचालन गर्ने र सरकारले दिने सेवा सुविधा पनि उनीहरुले स्थानीय तहबाटै पाउन भनेर काम गरिरहेका छौँ ।

कृषिभित्र पनि धेरै विधाहरु छन् । युवा त्यसमध्ये कुन क्षेत्रमा जान चाहन्छन् भन्ने छान्न लगाएर पनि उनीहरुलाई आकर्षण गर्ने कुरा बजेटमार्फत पनि गरेका छौँ । थप कार्यक्रम ल्याइएको छ । यसअघिका कार्यक्रमहरु चलिरहेकै छन्, त्यसका अप्ठ्याराहरु र चुनौतीहरु हटाउँदै कसरी सहजीकरण गर्न सकिन्छ भन्नेबारेमा हामीले काम गरिरहेका छौँ । 

अब कृषि क्षेत्रमा त वर्षौंदेखि मलबीउको समस्या, बजारको अभाव, बिचौलियाको बिगबिगी, पूँजीको अभाव जस्ता दर्जनौं समस्या भोग्न बाध्य छन् । यी समस्या समाधान नगरी कृषिमा आकर्षण बढ्न सक्दैन । यी समस्या कसरी हटाउनुहुन्छ ?

अवसर र चुनौती सँगसँगै छन् । मल बीउको आपूर्तिको समस्या छ । अहिले संसारभरि नै यो सप्लाई विश्वभर नै प्रभावित भएको छ । सप्लाई चेन प्रभावित हुँदा यसले हामीलाई पनि असर गरेको छ । यस्तै सिँचाइलाई पनि सकेसम्म बढाउने गरी कामहरु भइरहेका छन् ।

साथै सुख्खा ठाउँमा फल्ने बालीवस्तुहरुबारे पनि हामीले आकर्षण बढाउन सकिन्छ । भौगोलिक अवस्थालाई हेरेर सिँचाइका बारेमा योजनाहरु बनेका छन् । सँगै हामीले बीमालाई जोड गरेका छौं ।

कृषि बीमा र पशुपन्छी बीमासँगै हामीले किसानको दुर्घटना बीमालाई पनि जोड्ने काम गरिरहेका छौं । यसले पनि किसानलाई जोखिमबाट सुरक्षण दिने छ । यसका साथै ऋणका लागि हामी कसरी यसलाई सहज बनाउन सक्छौँ, किसानको पहुँच कसरी बढाउन सक्छौँ अनि किसानको वित्तीय साक्षरता पनि कसरी बढाउने भन्नेबारेमा पनि हामी काम गरिरहेका छौँ र थप के गर्न सकिन्छ भन्नेमा बैंक तथा वित्तीय सँस्थाहरुसँग पनि छलफल गरिरहेका छौँ । 

बजारको समस्या चाहिँ धेरै नै जटिल समस्यामध्येको एक हो । यो चुनौतीपूर्ण पनि छ । हामीले सबैभन्दा धेरै हारेको क्षेत्र नै यही हो । हामीले बिस्तारै उत्पादनमा राम्रो गर्दै गए पनि बजारमा हामीले राम्रो गर्दै जान सकेनौँ । बजारको लागि नेटवर्क चाहिन्छ ।

हरेक बिन्दुमा व्यवसायी हुनपर्ने त्यो हुन सकेन । बिचौलियाका कारण पनि समस्या भयो । दीगो भन्दा पनि पटके खालको व्यवसाय भयो । अहिले हामी कृषि पूर्वाधार र बजारहरु थप्दै र त्यसमा युवालाई जोड्दै जाने हो भने भोलि हामी पूर्वदेखि पश्चिमसम्मको उत्पादन काठमाण्डौ पुर्याउन सक्छौं । अहिले युवाहरुले डिजिटल मार्केटिङलाई पनि हामी प्रवर्द्धन कसरी गर्न सकिन्छ भन्नेबारेमा काम गरिरहेका छौं । 

बजारको कुरा गर्दा जस्तो कञ्चनपुरको उत्पादन काठमाण्डौसम्म जोडिएको छैन । बजार सञ्जालका कारण बाहिरका बस्तु आउने तर स्थानीय उत्पादन बजारसम्म पुग्न नसकिरहेको अवस्था छ । त्यसैले यसका लागि उत्पादक सहकारी र बजारीकरणका सहकारीसँग पनि जोड्ने कुरा गर्न सकिने थियो । 

अर्को कुरा चाहिँ न्यूनतम समर्थन मूल्य तोक्ने कुराका बारेमा हामीले तयारी गरेका छौं किनभने किसानलाई व्यवसायका रुपमा लैजाने भएपछि नाफाको ग्यारेण्टी नभई कोही पनि यता आकर्षित हुँदैन । त्यसले गर्दा कम्तिमा समर्थन मूल्य तोकिदिने हो भने यसले केही हदसम्म भए पनि उत्पादन बिक्ने ग्यारेण्टी त हुन्छ । त्यसैले कम्तिमा मुख्य बालीहरुको समर्थन मूल्य तोक्ने गृहकार्य भइरहेको हो । 

कृषिको कुरा गर्दा उत्पादन प्रविधिको कुरा पनि आउँछ । कृषिलाई यान्त्रिकरण गर्न सके यसमा आकर्षण बढाउन सकिने थियो यसबारे चाहिँ के तयारी छ नि ?

पक्कै कृषिमा यान्त्रिकीकरणले कृषिको आकर्षण बढाउँछ । यो छिटो पनि हुन्छ र सजिलो पनि । अहिले यो क्रम निकै बढिरहेको छ । खेतीमा यन्त्रको प्रयोग गाउँगाउँसम्म पहिलेभन्दा बढेको छ । तर हाम्रो भूगोलले सबै ठाउँमा सबै खालका यन्त्रलाई प्रयोग गर्न सम्भव छैन ।

यसका लागि हामीले हाम्रो माटो सुहाउँदो यन्त्रहरु कि बनाउनु छ कि त त्यसअनुकूलका प्रविधि भित्र्याउनुपर्ने छ । अर्को पक्ष चाहिँ के हो भने खेतीमा पनि आत्मसम्मान बढाउने खालका खेतीलाई प्रोेत्साहन र प्रवर्द्धन गर्ने भन्ने कुरामा पनि जोड दिइरहेका छौँ ।

जस्तो लिची फल्ने ठाउँमा एक बोट लिचीबाट किसानले १०, १५्र हजारसम्म आम्दानी गर्न सक्छ भने उसले किन फलफुल खेती नगर्ने ? यसले आत्मसम्मान पनि बढाउँछ भने यान्त्रिकरणको आवश्यकता पनि खासै पर्दैन । यस्ता कुरामा पनि हामी जोड दिइरहेका छौँ । 

तर नगदेबालीको कुरा पनि तपाईले भनेको जस्तो सजिलो कहाँ छ र ? नेपालका उखु किसानका दुःखका कुरालाई नै मात्र उदाहरण मान्ने हो भने पनि समस्या कति भयावह छ भन्ने कुरा थाहा हुन्छ । यस्तो समस्या हटाउन त राज्यले धेरै काम गर्नुपर्ने देखिन्छ नि होइन र ?

अब अहिले चाहिँ हामीले नयाँ प्रयास गर्न खोजेको के हो भने किसानलाई स्थानीय तहबाटै दर्ताको प्रक्रियामा ल्याउने । त्यसपछि सबै किसान अनलाइन डाटाबेसमा आउँछन् । त्यसपछि किसानलाई प्रमाणपत्र दिने भन्ने कुरा आउला । यसले उसलाई बैंकमा गएर र अरु ठाउँमा पाउने सुविधा लगायतका कुरालाई पनि सजिलो बनाउनेछ ।

तपाईँले भनेको जस्तो उखु किसानका जस्ता समस्या नहुन भन्नलाई उनीहरुले पाउने पैसा सिधै बैंक खातामा पुग्ने व्यवस्था गर्ने बारेमा पनि हामी तयारी गरीहेका छौँ । बीउलाई पनि हामीले त्यसरी लैजाने तयारी गरेका छौँ । अनलाइन प्रणालीलाई व्यवस्थित गर्न खोज्दैछौँ ।

सबै किसानको तथ्याँक र कुन बालीमा कति किसान छन् भन्ने भएपछि अनुदान लगायत कुराका लागि धेरै नै सजिलो हुन्छ । त्यसले यो वर्ष हामी यो क्षेत्रमा पूर्वतयारीका धेरै नै काम गर्दैछौं । जसले बीउबिजनदेखि अनुदानसम्मका कुरा पारदर्शी र सजिलो गरी गर्न सकिन्छ । 

यो कामका लागि मुख्य चुनौतीहरु चाहिँ के के हुन त कृषिमा उत्पादन बढाउन र आकर्षण बढाउनका लागि ? 

मुख्य रुपमा भौगोलिक अवस्थिती हो । हामीले यसका लागि कुनै पनि गाउँमा कुन बालीको खेती गर्न सकिने हो त्यसमा सबैलाई आकर्षण गर्न सकियो भने बजारीकरण गर्न पनि सजिलो हुन्छ । यसले एकै बस्तु वा बालीको उत्पादन धेरै हुने भएकाले उत्पादनको बजार सहज हुन सक्छ ।

अर्कातिर कुनै ठाउँमा कुनै उत्पादन विशेषको अनुदान राहत लगायतलाई पनि सजिलो हुन्छ । यसका लागि चक्लाबन्दी खेती र भूमि बैंकको कुरा पनि गरिरहेका छौँ । यसका लागि केही कानुनी जटिलता पनि छन् । त्यसलाई पनि हटाउँदै लैजाने गरी समन्वयको काम पनि भइरहेको छ । अरु बजारका सिँचाईका कृषि ऋण लगायतका समस्याहरु जुन वर्षौंदेखि छन्, तिनलाई पनि कसरी कम गर्दै लैजान सकिन्छ भन्नेबारेमा हामी जोडतोडका साथ लागेका छौं । 

मलाई के लाग्छ भने व्यक्ति समाज वा देश समृद्ध बन्ने हो भने व्यापार नै हो । र नेपालमा व्यापार बढाउने सबैभन्दा मुख्य र सम्भाव्य क्षेत्र भनेको कृषि नै हो । यसका लागि कृषिको व्यवसायिकरणबाट हुन्छ । त्यसैले जोसँग जति छ, पाखो बारी होला, एक दुई गरा मात्र होलान् त्यहाँ के गर्न सकिने सम्भावना छ त्यहाँ त्यही कुराको खेती शुरु गरौँ ।

यसका लागि सरकारले गर्न सक्ने जति काम गर्नेछ, गर्दै जानेछ । बाँकी काम अरु क्षेत्रले र स्वयं व्यक्तिले पनि गर्नुपर्यो । सबै मिलेर जाने हो भने अब कोभिड १९ पछि कृषिलाई युवाको आकर्षणको क्षेत्र मात्र होइन देशको आम्दानीको क्षेत्रका रुपमा पनि उपयोग गर्न सकिन्छ । चुनौती छन् तर तिनलाई परास्त गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । 

अन्तिम अपडेट: साउन ७, २०७७

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया