कर्णाली प्रदेशको बजेट : कोरोना नियन्त्रण, कृषि उत्पादन र रोजगारी प्राथमिकतामा

 असार १, २०७७ सोमबार १४:२०:५१ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण, भोकमरी, कृषि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याएको छ । सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।

प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार,  चालुतर्फ ११ अर्ब ६७ करोड र वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९९ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चालु अन्तर्गत कोरोना उपचारमा ८७ करोड ४१ लाख, रोजगारतर्फ दुई अर्ब ५८ करोड २६ लाख र प्रशासनिकतर्फ आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

प्रदेश सरकारले कोरोना महामारी, भोकमारी र रोजगार केन्द्रित बजेट ल्याएको मन्त्री ज्वालाले बताउनुभयो । स्वास्थ्य उपचार, रोजगारमूलक विकास र जीवनस्तरमा सुधार गर्ने, कृषि, उद्योग, पर्यटन विकास गरी उत्पादनमा वृद्धि गर्ने उहाँको भनाइ छ । 

कोभिड-१९ केन्द्रित स्वास्थ्य, खाद्यान्न र शिक्षाको लागि एक अर्ब ५० करोड ५८ लाखको कोष परिचालन गरिने बजेटमा समावेश गरिएको छ । रोजगारीको अवसर सिर्जना गर्न ६ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको छ । साथै भूमि तथा कृषि क्षेत्रको लागि दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया