प्रदेश ५ को बजेट : ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

 असार १, २०७७ सोमबार १९:२८:४१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०७७ ७८ को लागि कुल बिनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार ( ३४ दशमलव ६४ प्रतिशत ) र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार ( ५१ दशमलव २ प्रतिशत ) रहेको बताउनुभयो । पालिकाको लागि वित्तीय हस्तान्तरणतर्फ पाँच अर्ब १४ करोड ५० हजार रुपैयाँ रहेको छ, यो कुल विनियोजित बजेटको १४ दशमलव १४ प्रतिशत हो ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट दुई अर्ब तीन करोड ७७ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ३४ करोड दुई लाख, रोयल्टी बाँडफाँडबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट पाँच अर्ब ८१ करोड ३६ लाख, समपूरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालु आर्थिक वर्षको बचत रकमबाट सात अर्ब ९४ करोड ५० लाख रुपैयाँ रहने छ ।

‘समृद्ध प्रदेश : खुसी जनताको सोच’ हासिल गर्न सहयोग पुग्ने गरी बजेट ल्याएको भन्दै मुख्यमन्त्री पोखरेलले आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गर्नुभएको छ ।  

स्वास्थ्य क्षेत्रको स्तरोन्नति र विस्तार गरी स्वास्थ्य सेवामा आमनागरिकको पहुँच वृद्धि गर्ने , शिक्षालगायत सामाजिक क्षेत्रको विस्तार र विकास गर्ने, कृषि क्षेत्रमा उत्पादनको साधनमा सरल पहुँच र नवीनतम प्रविधिको उपयोग बढाउँदै युवा पुस्तालाई आकर्षित गर्ने र कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारशीलाको रुपमा विकास गर्ने प्राथमितकता बजेटमा उल्लेख गरिएको छ ।

आर्थिक सामाजिक क्षेत्रको समग्र विकासमा टेवा पुग्ने गरी दिगो पूर्वाधार विकासमा जोड दिने तथा छिट्टै आर्थिक प्रतिफल हासिल हुने क्षेत्रमा व्यावसायिक लगानी र साझेदारी गर्ने, प्रदेशलाई डिजिटल प्रदेशमा रुपान्तरण गर्ने गरी सूचना प्रविधिको विकास र उपयोगमा जोड दिनुका साथै सार्वजनिक खर्चलाई मितव्ययी एवं नतिजामुखी बनाउने र अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने बजेटमा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया