डोटीमा थप २० जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ३७ पुग्याे

 असार १, २०७७ सोमबार २०:४४:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा भारतबाट फर्किएका २० जनामा साेमबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सोमबार धनगढी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै डोटीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३७ पुगेको छ ।

३७ जना सङ्क्रमितमध्ये चार जना जिल्लाबाहिरका हुन् । सोमबार पुष्टि भएका २० जनामध्ये शिखर नगरपालिकाका १७ जना रहेका छन् भने दुई जना आदर्श गाउँपालिका र एक जना पूर्वीचौकी गाउँपालिकाका रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

निर्देशनालयका अनुसार शिखर नगरपालिका वडा नम्बर ३ का ३९, ३५, ३४, ३२, २५, २१, १८, १८, २२, ३०, १८, २३, १८, २० वर्षीय पुरुष र ३५ वर्षीया एक महिला गरी १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी शिखर नगरपालिका ६ का २४ र ४३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमित १७ जनामध्ये १६ जना नगरपालिकाको आइसोलेशन र एक जना जिल्ला अस्पतालको आइसोलेशन वार्डमा रहेका छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । 

त्यस्तै आदर्श गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय पुरुष र वडा नम्बर ३ का ६२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित दुवै जनालाई गाउँपालिकाको आइसोलेशनमा राखिएकाे छ ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ७ का २१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । उनी सम्बन्धित गाउँपालिकाको आइसोलेशनमा रहेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया