जनसङ्ख्याशास्त्रको विद्यार्थीको आँखामा कोरोना : कोभिड-१९ महामारी हैन, सामान्य सरुवा रोग हो

 असार ३, २०७७ बुधबार ९:४७:५४ | विधान आचार्य
unn.prixa.net

काठमाण्डाै - नेपालमा अहिलेको प्रक्षेपित जनसङ्ख्या २ करोड ९१ लाख र कोरा मृत्युदर प्रतिहजार ९ का हिसाबले बर्सेनि कम्तीमा पनि (२९१*९=) २,६१,९०० दुई लाख एकसठ्ठी हजार नौ सय मानिस मर्छन् ।

यो हाम्रो स्वाभाविक कोरा मृत्युदरले बताउने सङ्ख्या हो र यो सङ्ख्या विकसित कहलाएका देशकै हाराहारीमा छ ।

अब यसैभित्र रुघा, जरो, टीबी, मलेरिया, बच्चाको लहरेखोकी, एड्स, हेपाटाइटिस या अन्य सरुवा रोग पनि छन्, र क्यान्सर, मिर्गौला, दम, मुटु, मातृमृत्यु वा दुर्घटनाजस्ता नसर्ने प्रकृतिका कारण पनि छन्।

मृत्यु सबै उमेर समूहका व्यक्तिमा हुन्छ, शिशु अवस्थामा केही बढी, अनि घट्दै १५ वर्षमा पुग्दा न्यून र बिस्तारै बढेर गइ वृद्ध अवस्थामा उच्च हुन्छ ।

हालसम्म सर्ने रोगका कारण हुने मृत्युको सङ्ख्या धेरै छ, तर अब नसर्ने कारण बढदो छ ।  २,६१,९०० लाई प्रतिमहिनामा हेरौं, सङ्ख्या २१,८०० जति हुन्छ ।

नेपालको हालको जनसङ्ख्यामा लगभग २२ हजार व्यक्ति प्रतिमहिना मरेकै हुन्छन् । यसमा, विकासका कारण सर्ने घटेको र नसर्ने रोग बढेकोले मृत्यु हुनेको सङ्ख्या आधा-आधा नै मानियो भने पनि १०,९०० त सरुवा रोगले नै होला । यो सङ्ख्या एक महिनामा ९०० हुन्छ ।

त्यसमा एउटा मात्रै टीबीका कारण कति होलान्, अरू हेपाटाइटिस, एचआईभी/एड्स वा अन्य कारणले मर्ने पनि कति होलान् । सयौंका सङ्ख्यामा मर्छन्, मरिरहेकै छन् । के हामीले यिनलाई महामारी भनेका छौँ र? यस्तो मृत्यु हाम्रो मात्र नभएर कुनै पनि जनसङ्ख्याको अत्यन्त स्वाभाविक प्रक्रिया हो ।

यसकारण, पाँच महिनामा जाबो १९/२० जना मर्दैमा लगभग ३ करोड जनसङ्ख्या भएको देशमा कोरोनालाई ठूलो महामारी भन्ने पक्षमा म छैन । यसले भइरहेको मृत्युदरलाई हालसम्म कुनै प्रभाव पारेकै छैन । मृत्युदरलाई नै चलायमान गराउने देखिँदो प्रभाव (significant effect)​ नपारी यो महामारी कहलिन सक्दैन ।

हो, रोकथामका उपाय र लागिसकेपछि गर्नुपर्ने सचेतताका लागि हाम्रो जागरुकता अवश्य चाहिन्छ, बेवास्ता गर भनेको होइन । बेवास्ता भएमा यो महामारी बन्नसक्छ, हालसम्म भने भएको छैन ।

तथापि, जुन रूपमा यसलाई अहिले प्रचार गरिएको छ, त्यसको रूप र जोखिमको अवस्था त्यही मात्रामा छैन भन्ने मलाई लाग्छ ।

तर, फेरि भनें- पूर्वसावधानी आवश्यक छ, हालसम्म भने यसलाई महामारी नभनौं । अर्को, स्वास्थ्य क्षेत्रमा नेपालमा भएको प्रगति त्यति निराशाजनक छैन, संसारका धेरै देशका तुलनामा हामी साह्रै तल छैनौं । त्यसैले सावधानी अवश्य राखौं, तर नआत्तिऔं न अत्याऔं ।

प्रदर्शनी र जुलुस तथा मिडियामा हुने तिनको प्रचारबाजीले जनमानसको मनोविज्ञानमा नकारात्मक असर पर्छ, तथ्यपरक काम गरौं । हौवा सृजना नगरौं ।

(लेखककाे फेसबुक  पेजबाट)

अन्तिम अपडेट: बैशाख १, २०८१

विधान आचार्य

आचार्य जनसङ्ख्याशास्त्रका सहप्राध्यापक तथा नेपाल स्रष्टा समाजका अध्यक्ष हुनुहुन्छ ।
 

1 Comments

  • Pratap

    June 17, 2020, 12:34 p.m.

    Therefore the death is almost 3 times the normal attrition rate. Reported that 6591 found infected deaths 19 = 2.92 per thousand.

  •  0 Reply

तपाईको प्रतिक्रिया