आज कुवेत, ओमान र मलेसियाबाट नेपाली स्वदेश फर्कंदै : अहिलेसम्म १३ देशबाट १५ सयभन्दा धेरै फर्किए

 असार ४, २०७७ बिहिबार ६:३४:२६ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – आज बिहीबार मलेसिया, कुवेत र ओमानबाट नेपाली स्वदेश फर्कंदै छन् । 

कुवेतबाट आममाफीमा सहभागी १५० जना नेपालीलाई कुवेत सरकारले नै नेपालसम्म ल्याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । कुवेतबाट नेपालीलाई लिएर जजिरा एअर काठमाण्डौ आउनेछ । उनीहरु सबैजनालाई कोरोना जाँचसहित कुवेतले निःशुल्क ल्याइदिनेछ । 

यस्तै ओमानबाट १८० जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । ओमानबाट सलाम एअरले चार्टर्ड उडानमार्फत १८० नेपाली स्वदेश ल्याउन लागेको हो । सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा नेपालीलाई काठमाण्डौ ल्याउँदैछ ।

यस्तै आजै मलेसियाबाट पनि नेपालीहरु स्वदेश फर्कंदै छन् । त्यहाँ समस्यामा परेकामध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले आज हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो । यो उडानमार्फत फर्कने नेपालीको सङ्ख्या कति छ भन्ने खुलाइएको छैन । मलेसियाको स्थानीय समय अनुसार दिउँसो ३ बजेर २५ मिनेटमा जहाज मलेसियाबाट नेपालका लागि उड्ने छ । 

आज हुने पूर्व निर्धारित दुई उडान रद्द

आज साउदीको रियादबाट नेपाल एअरलाइन्सले उडान भर्ने तालिका भने रद्द भएको छ । आजको सट्टा रियादबाट नेपाल एअरलाइन्सले जुन २१ अर्थात असार ७ गते उडान भर्ने भएको छ । यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । प्राथमिकतामा परेका नेपालीको सूची दूतावासले नेपाल एअरलाइन्सको प्रतिनिधिलाई दिइसकेको जनाएको छ । यो उडानमार्फत स्वदेश फर्कनेले कोरोना जाँचको प्रमाण साथैमा राख्नुपर्नेछ ।

यस्तै आजकै दिन संयुक्त अरब इमिरेट्स यूएईबाट हुने नेपाल एअरलाइन्सको उडान पनि रद्द भएको छ । यो उडान कहिले हुन्छ भन्ने जानकारी आएको छैन । 

१३ देशबाट १५ सय ८६ जना फर्किए

बुधबारसम्ममा १३ देशबाट १५ सय ७९ जना स्वदेश फर्किएका छन् । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कुवेतबाट चार उडानमार्फत ५९८, बंगलादेशबाट दुई उडानमार्फत ४१३, मलेसियाबाट १, म्यानमारबाट २६, यूएईबाट १६८ जना स्वदेश फर्किएका छन् । 

यस्तै जापान दुई उडानमार्फत १३, अस्टे«लियाबाट ११, अफगानिस्तानबाट १८, ओमानबाट १६६, हङ्कङबाट ११ जना, श्रीलंकाबाट ५, माल्दिभ्सबाट १४९ र हङ्कङबाट ७ जना स्वदेश फर्किएका हुन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया