बझाङमा यार्सा सङ्कलन गर्न जाने बढे

 असार ४, २०७७ बिहिबार २०:३५:३२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – यार्सा सङ्कलन गर्न बन्द गरिएको भए पनि लुकीछिपी यार्सा सङ्कलन गर्न लेक जानेहरुको क्रम बढ्दै गएको छ । बझाङको सुर्मा गाउँपालिका, सैपाल गाउँपालिकालगायतका अन्य पालिकाबाट यार्सा सङ्कलन गर्न लेक जानेकाे क्रम बढेको हाे ।  

तीन महिना यार्सा सङ्कलन गरे वर्षभरि बालबालिकाको पढाइ खर्च, दैनिक उपभोग्य वस्तुहरु समेत खरिद गर्ने भएका कारण स्थानीयवासी यार्सा टिप्न जाने गरेको स्थानीय दिनेश बाेहाेराले बताउनुभयो । 

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठककाे निर्णयले काेराेना महामारीकाे कारण यार्सा सङ्कलनमा रोक लगाएकाे थियाे । गाउँपालिका, प्रशासन, डिभिजन वन कार्यालयलगायतले समेत यार्सा सङ्कलन नगर्न पटक-पटक आग्रह गर्दै आएको छ । यार्सा सङ्कलन नगरे भोकमरीको अवस्था सिर्जना हुने भन्दै लुकीछिपी जानेको सङ्ख्या बढ्दै गएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । 

सुर्मा गाउँपालिकाका अध्यक्ष नन्दबहादुर बोहोराले यार्सा टिप्न नजान आग्रह गर्दै माइकिङ गरेको जानकारी दिनुभएको छ । यद्यपी, जङ्गलमा सबै एक ठाउँमा नबस्ने भएकाेले कोरोना सङ्क्रमणको सम्भावना कम हुने उहाँको बुझाइ छ । 

डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख कर्णबहादुर कठायतले यार्सा सङ्कलन गर्न जाने क्रमलाई कम गर्न जिल्लाबाट वनरक्षकसहितको टोली जङ्गल पठाइएको जानकारी दिनुभएको छ । उहाँले सरकारलाई यसबारे पत्राचार गरेको जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले प्रहरी परिचालन गरी नाै जनालाई पक्राउ गरेर डिभिजन कार्यालय पठाइएको बताउँदै नियम विपरीत कार्य गर्नेलाई कारबाही गरिने बताउनुभएको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया