ढोका छाेएकाे निहुँमा दलित बालक कुटिए, दबाबमा मिलापत्र गराइयाे : पीडित पक्ष

 असार ४, २०७७ बिहिबार १८:५९:२९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु​ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ९ सिसा खोलामा घरकाे ढोका छोएको निहुँमा दलित बालकमाथि कुटपिट भएकाे छ । 

निर्माण हुँदै गरेको घरको ढोकामा छोएको निहुँमा तारा थापा मगर र २७ वर्षीय श्याम थापा मगरले १६ वर्षीय बालक दीपक विश्वकर्मामाथि कुटपिट गरेका हुन् । 

कुटपिटबाट दीपकको ढाड, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । अहिले उनको ओखलढुङ्गाको मिसन अस्पतालमा उपचार भइरहेको बालकका बुवा नीरबहादुर विश्वकर्माले बताउनुभएको छ । 

जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन नमानेकाे तथा घटना लुकाउन गएको असार १ गते पत्ताले प्रहरी चौकी र पीडकको निरन्तर दबाबमा गाउँमै मिलापत्र गराइएको पीडित पक्षको दाबी छ । 

घाइतेलाई अस्पताल लैजान गाडी भाडास्वरुप १० हजार रुपैयाँ र अस्पताल खर्चकाे लागि १० हजार तीन सय रुपैयाँ दिएर जबर्जस्ती ​मिलापत्र गराइएको परिवारको दाबी छ । नगरपालिका ९ का वडाध्यक्ष काजी शेर्पाले भने छुवाछुतको घटनालाई विना कानुनी उपचार आफूलाई जानकारी नै नगराइ मिलापत्र गरिएको बताउनुभयो । पीडक तारा थापा मगरले आफूले जातीय छुवाछुत नगरेको तर बालकलाई कुटपिट गरेको स्वीकारेका छन् । 

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था रहेको छ । बालकमाथि गएकाे जेठ ३१ गते कुटपिट भएकाे हाे ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया