दुबईबाट १४८ जना बोकेर जहाज काठमाण्डौ उड्यो

 असार ५, २०७७ शुक्रबार ७:११:५३ | उमाकान्त पाण्डे

काठमाण्डौ – संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड बिमान उडेको छ । १ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज केहीबेरअघि उडेको हो ।

आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ । फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् ।

गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् ।

आज उडेको विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

दूबई अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल २ बाट उडान भएको र अन्य राज्यबाट दुबई पुग्न लकडाउनका कारण समस्या भएकाले स्थानीय प्रहरीको अनुमति लिएर विमानस्थलसम्म पु¥याइएको हो ।

दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण ढिलै भए पनि समस्यामा परेका नेपालीको उद्धारमा दूतावास लागि परेर काम गरिरहेको र त्यसको नतिजा आजको उडानबाट देखिएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभएको छ ।

नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ३ सय ६० अमेरिकी डलर अर्थात झण्डै ४० हजार रुयैयाँ तिरेर टिकट काटेका छन् । नेपाल फर्किएका सबैको विमानस्थलमा निःशुल्क कोभिड परीक्षण गरिएको थियो ।

यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन् ।

नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार यूएको समय अनुसार बिहान ११ बजे हुने नेपाल एयरलाइन्सको यूएई हेर्ने अधिकारिक एजेन्सी एन्टाका सजु पौलले उज्यालोलाई जानकारी दिनुभयो ।

स्वदेश फर्कन चाहनेको दूतावासले सम्बन्धित एयरलाइन्समा जानकारी गराएपछि त्यसकै आधारमा एयरलाइन्सले सम्बन्धित व्यक्तिहरुलाई उडान हुने मिति र टिकट काट्ने स्थानका बारेमा जानकारी गराउने नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर टिकाराम पङेनीले बताउनुभयो ।

पहिलो चरणमा यूएईबाट नेपाल एयरलाइन्सले दुई, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेबियायाले ३/३ वटा उडान भर्ने दूतावासले जनाएको छ ।

(दूतावासले गर्भवती महिलालाई प्राथमिकतामा राखेर स्वदेश पठाएक‍‍ो आधारमा राखिएको शीर्षकले नकारात्मक सन्देश गएकोमा क्षमाप्रार्थी छौं । यो शीर्षक सच्चाएका छौं । – सम्पादक)

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

3 Comments

  • बिनय

    June 19, 2020, 10:49 a.m.

    भेदभाव भयो ....यु ए इ वाट नेपाल एयरलाइन्सले 360 मा लग्यो तर एयर अरेबिया र फ्लाइ दुबई बाट जानेले 500 डलर तिर्नुपर्ने ....यो कस्तो नियम हो दूतावासको? हामी त झन शोषणमा पर्ने भयो।

  •  0 Reply
  • Gurung bhai

    June 19, 2020, 9:32 a.m.

    ढिलै भएपनि यहाँ नेपालीको उद्दार भएकोमा खुशी लाग्यो /

  •  0 Reply
  • शिशिर दूरबस्तिको

    June 19, 2020, 8:20 a.m.

    कहिले काहीँ खुशी खुशीमात्रै नभएर आँशु पनि हुने गर्छ। लामो समय कष्ट सहेर देश फिर्न पाउँदा चेहरामा देखिएको खुशी अबर्णनिय लाग्यो। भनै म मेरो आफ्नै कोठामा बसेर फोटोमा हेरेको किन न हुँ। तस्वीर हरू बोल्छन् कसैले त्यसै कहाँ भनेका रैछन र आखिर? ढिलो भए पनि युएईको दूतावासले गरेको यो पहल राम्रो छ। त्यसकालाई धन्यवाद दिनै पर्छ। म पनि मेरो कुम्लो कुटुरो तयार गर्ने सुर गर्दैछु। जे होला देखा जाएगा जिन्दगी जिउन अब प्रवास नछोडी नहुने मानेको छु।

  •  1 Reply

तपाईको प्रतिक्रिया