जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा

 असार १०, २०७७ बुधबार १७:४२:५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्ला अस्पतालका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि सङ्क्रमण समुदायमा फैलिन नदिन जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी निषेधाज्ञा आज दिउँसाे ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि घाेषणा गरिएको हो । 

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ( ३) बमोजिमकाे हाे । निषेधाज्ञा जारी गरी सिल गरिएको क्षेत्रमा चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला रहेकाे प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो । 

आजै  कोभिड–१९ कमाण्ड नियन्त्रण समितिको बैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको बैठकमै निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले इमर्जेन्सी सेवाबाहेक सबै बन्द गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुको आजै स्वाब लिइएको छ । 

कर्णाली प्रतिष्ठानमा काम गरिरहेका चार जना र एक जना अन्य गरी पाँच जनामा कोरोना पोजिटिभ देखिएपछि सर्तकता अपनाइएको हाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया