डोटी : करेन्ट लागेर ज्यान गुमाउने क्रम राेकिएन

 असार १२, २०७७ शुक्रबार १२:१०:१४ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटी जिल्लामा करेन्ट लागेर बर्सेनि धेरैको ज्यान जाने गरेको पाइएको छ । कहिले विद्युत कार्यालयको कमजोरीले त कहिले स्थानीयकै लापरबाहीले करेन्टले ज्यान जाने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीको तथ्यांक अनुसार जिल्लाका अधिकांश ठाउँमा विद्युत बिस्तार भएको वि।सं। २०७१ सालदेखि अहिलेसम्म कम्तिमा पनि २० जनाको करेन्ट लागेर ज्यान गएको पाइएको छ । अधिकांश घटनाहरुमा विद्युत कार्यालय नै बढी जिम्मेवार रहेको तथ्यांकले देखाएको छ । 

डोटीमा विभिन्न कारणले करेन्ट लागेर बर्सेनि धेरै स्थानीयको अकालमै ज्यान जाने गरेको भए पनि सम्बन्धित निकायले त्यसको रोकथामका लागि कुनै पहल चाल्न नसकेको स्थानीयबासिन्दाको आरोप छ ।

यही असार ६ गते खानेपानीको धारामा करेन्ट प्रवाह गर्दा आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर ज्यान गयो । भारतबाट गाउँमा आएकाहरु कोरोना सङक्रमित हुन सक्ने र उनीहरुले पानी भर्ने गरेको भन्दै त्यही वडाका १९ वर्षीय सुर्ज किमाडीले पानी ट्याङ्कीमा करेन्ट प्रवाह गरेका कारण थापा बागको करेन्ट लागेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दीलिपसिंह देउवाले बताउनुभयो । 

त्यसैगरी वि.सं. २०७१ सालमा सायल गाउँपालिका–१ खातीवाडाका भानबहादुर साउदको जमिनमा खसेको विद्युतको तार छुँदा घटनास्थलमै ज्यान गयो । लत्रिएको तार व्यवस्थापन गर्न पटक–पटक आग्रह गर्दा पनि त्यसतर्फ विद्युत कार्यालयको ध्यान गएको थिएन । 

त्यस्तै २०७१ सालकै फागुन महिनामा विद्युत कार्यालयकै लापरवाहीले विद्युत कार्यालयका कर्मचारीको ज्यान गयो ।

बाजुरा गोत्री घर भइ दिपायलमा रहेको विद्युत कार्यालयमा करार सेवामा काम गर्ने राजेन्द्र खत्रीले जिजौडामाण्डौमा विद्युत लाईन तान्नका लागि पोलमा चढेका बेला कार्यालयबाट करेन्ट छोडीदिएपछि करेन्ट लागेर उहाँको ज्यान गएको थियो ।

यस्तै २०७३ सालमा डोटीकै दिपायल सिलगढी नगरपालिका पाकरीमा इन्सुलेटर पड्केर तार झर्दा  विद्यालय गइरहेका दुई बालिकाको ज्यान गएको थियो भने ४ जना घाइते भएका थिए । 

त्यसैगरी २०७७ साल जेठ महिनामा सेती प्राविधिक शिक्षालयका एक विद्यार्थीको क्रिकेट खेल्ने क्रममा अत्तरिया–दिपायल जोड्ने १ हजार १०० केभीएको हाइटेन्सन लाइनको तार छुँदा घटनास्थलमै ज्यान गएको थियो । उहाँले पर्खाल बाहिर रहेको क्रिकेटको बल ल्याउन पर्खाल नाघ्न खोज्दा हाइटेन्सनको लाइन छोइएको थियो । 

त्यस्तै त्यही महिना आफैं विद्युतको पोल सार्न खोज्दा आदर्श गाउँपालिका–१ चासीमा चार जना युवाको ज्यान गयो । 

स्थानीयले विद्युत कार्यालयलाई पटक–पटक पोल सार्न जानकारी दिंदा पनि सुनुवाई नगरेपछि युवाहरु आफैं पोल सार्न लागेको थिए । त्यही क्रममा उनीहरुको ज्यान गएको थियो  । तर विद्युत विद्युत कार्यालयले भने पोल सार्नेबारे स्थानीयले कार्यालयलाई कुनै जानकारी नदिएको दाबी गरेको थियो । तर घटनापछि विद्युत कार्यालयले क्षतिपूर्ति दिएको थियो ।

डोटीमा बर्सेनि करेन्ट लागेर स्थानीयको ज्यान जाने गरेको भए पनि विद्युत कार्यालयले त्यसको रोकथामका लागि कुनै पहल नगरेको दिपायलका स्थानीयबासिन्दा सुदिप बोहराले बताउनुभयो । 

‘यसबारे यहाँको विद्युत कार्यालय तथा प्रहरी प्रशासनले त्यसको रोकथामका लागि कुनै पहल चालेको छैन्, गैर जिम्मेवार बनेको छ’, उहाँको भनाइ छ ।

शिखर नगरपालिका–१ कपल्लेकी माथि रहेको विद्युत तार अहिले पनि भुइँमा झरेको छ । हावाहुरीका कारण केही महिना पहिले भुईंमा लत्रिएको तार अहिलेसम्म मर्मत नगरिएको स्थानीयबासिन्दा रमेश ऐरले बताउनुभयो । साना बालबालिकाले पनि त्यो तार छुन सक्ने भएकाले करेन्ट लाग्ने सम्भावना बढी रहेको उहाँको भनाइ छ । 

विद्युत कार्यालयमा पटक–पटक त्यहाँ पोल ठड्याउन र तार बनाउन आग्रह गरे पनि सुनुवाई नभएको स्थानीयबासिन्दाको आरोप छ । 

विद्युत कार्यालयमा भएको न्यून जनशक्ति, पुराना उपकरण, कर्मचारीहरुको लापरबाही तथा सर्वसाधारणको कमजोरीका कारण करेन्ट लाग्ने गरेको काँग्रेस नेता दीपकबहादुर विष्टको भनाइ छ  । जनचेतनाका नाममा विद्युत कार्यालयले औपचारिकता मात्र पूरा गर्ने गरेका कारण करेन्ट लागेर बर्सेनि धेरैको ज्यान जाने गरेको उहाँको आरोप छ । 

डोटी साना जलविद्युत कार्यालय दिपायल सब–स्टेसनका प्रमुख टेकबहादुर खड्का विद्युत कार्यालयका केही कमजोरी भए पनि सर्वसाधरणले समेत सचेत हुन जरुरी रहेको बताउनुहुन्छ । 
उहाँ भन्नुहुन्छ, ‘जिल्लाका गाउँ गाउँमा विद्युत बिस्तार भएको छ, हामीसँग जनशक्ति पनि कमी छ, यस विषयमा नागरिक आफैं चनाखो हुनु जरुरी छ ।’ 

आगामी दिनमा गाउँगाउँमा विद्युत सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि पहल भैरहेको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया