जुम्लामा कोरोना सङ्क्रमित थप २५ जना आइसोलेशन भर्ना

 असार १२, २०७७ शुक्रबार १९:३५:१ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमण देखिएका थप २५ जनालाई आइसोलेशनमा भर्ना गरिएको छ । 

प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले निकाल्नुभएकाे विज्ञप्तिमा एक जना अस्पतालमा भर्ना भएका बिरामी, दुई जना स्वास्थ्यकर्मी तथा अन्य परीक्षणकाे लागि आएका २२ जना गरी २५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएकाे हाे । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य भएको उहाँले बताउनुभयाे । 

यसअघि चार जना अस्पतालकै स्वास्थ्यकर्मी र अन्य चार जना आठ जनालाई आइसोलेशनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

२५२ जना स्वास्थ्यकर्मीको परीक्षण 

अस्पतालभित्रका फरक-फरक विभागका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाउँदै अस्पालको इमर्जेन्सी सेवा बाहेक अन्य सबै तीन दिनदेखि बन्द गरिएको छ ।

यसैगरी अघिल्लो पटक पीसीआर परीक्षण गरिसकेका दुई सय ५२ जना स्वास्थ्यकर्मीको फेरि परीक्षण गरिएको र दुई जना बाहेक अरु सबैकाे रिपाेर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । 

पछिल्लो समयमा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत काेराेना सङ्क्रमण देखिन थालेपछि चिन्ता बढेको छ । कठिन परिस्थितिका बीचमा कोरोनाविरुद्धको लडाइँमा प्रतिष्ठानका जनशक्तिले काम गरिरहेका छन् । 

निषेधाज्ञाले सुनसान 

अस्पतालमै कोभिड-१९ ( कोरोना भाइरस) सङ्क्रमण देखिएपछि समुदायमा थप सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले गएकाे असार १० गतेबाट निषेधाज्ञा लागू गरेकाे छ । स्थानीय प्रशासनले निषेधाज्ञा गरेपछि अहिले जुम्लामा सबै सरकारी कार्यालय र बजार बन्द छन् ।

 स्थानीय प्रशासन तथा सुरक्षा निकायले सुरक्षा  व्यवस्था कडा पारेका छन् । बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर गस्ती गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया