नेपालमा सलह भित्रिएको पुष्टि, प्रजाति पहिचान गर्न विज्ञसहितको टोली छलफलमा

 असार १३, २०७७ शनिबार १३:४६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवकाे फेसबुकबाट

काठमाण्डाै – नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जनाएको छ ।

नेपाल छिरेका सलह किरा बारा, पर्सा र सर्लाहीमा रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो । सहल किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । किसान एक्लैले सलह किरालाई रोक्न नसक्ने भएकाेले ठूलो क्षति हुनबाट रोक्न पालिका र प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्ने उहाँको आग्रह छ ।

त्यस्तै कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले सलह नेपाल प्रवेश गरेको तर प्रजातिकाे बारेमा यकिन गर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लोकस्ट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्छ । लोकस्ट प्रजातिको फट्याङ्ग्रा ठूलो र खैरो खालको हुन्छ ।

सर्लाहीको नवलपुरमा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको परिसरमा बसेका किराहरु उड्दै–उड्दै नजिकै रहेको उष्ण प्रदेशीय बृहत् बागबानी केन्द्रमा समेत प्रवेश गरेका छन् । अहिले देखिएको किरा ८/१० हजारको झुण्डमा रहेकाे छ ।

बाराकाे कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले पनि सलह किरा नेपालमा भित्रिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो । 

सलह किरा नेपाल प्रवेश गरेपछि प्रजाति पहिचान र व्यवस्थानकाे उपाय खाेज्न कृषि मन्त्रालयका पदाधिकारीसहित विज्ञको टोली अहिले छलफलमा रहेको विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले उज्यालोलाई जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • रमेश भट्टराई

    June 27, 2020, 2:03 p.m.

    लस्कट हैन लोकस्ट प्रजाती हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया