सुस्मिता थापा हत्या प्रकरणका आरोपित चार जना सार्वजनिक

 असार १५, २०७७ सोमबार १८:२७:२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर –जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका ४ कर्रा निवासी सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

मृतक केसीको हत्यामा उनकै ५८ वर्षीय ससुरा प्रकाश थापा, २३ वर्षीया कान्छी नन्द सीता थापा, ५० वर्षीया सासु तुलसा थापा र २७ वर्षीया जेठी नन्द दुर्गा थापा संलग्न देखिएको मकवानपुर प्रहरीले जनाएको छ ।

सुस्मितालाई आफ्नै घरको भान्सा कोठामा ससुरा, सासु र कान्छी नन्दले लाठी, लोरोलगायतले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जेठी नन्द दुर्गा थापा भने त्यसदिन काठमाण्डौमा भएको प्रहरीले जनाएको छ । हेटौँडा उपमहानगरपालिका ४ घर भएकी २६ वर्षीया थापा असार २ गते मृत अवस्थामा फेला परेकी थिइन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुस्मितालाई ससुरा प्रकाश थापाले केही दिनअघि बाथरुममा यौन दुर्व्यवहारको प्रयाससमेत गरेको खुलेको छ । अभियुक्तहरुलाई जन्मकैदको सजाय माग गरिने प्रहरीले जनाएको छ । सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा र नन्दलाई असार ४ गते नै पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान प्रक्रिया सुरु गरेको थियो । प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटनाको टुङ्गो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । 

उनको हत्या असार १ गते राति १० बजेको समयमा नै भएको अनुसन्धानबाट खुलेको छ । ‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइरहेको अवस्थामा एक्कासी ससुराले पछाडिबाट काठले सुस्मितालाई हानेको देखिन्छ । ससुराले काठले हानेपछि नन्दले लोरोले हानेर उनको हत्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा सुस्मिताका पतिको निधन भएको बताउनुभयो । 

‘पतिको निधनपश्चात् नियमितजसो सुस्मितालाई परिवारबाटै यातना भइरहेको देखिन्छ,’ प्रहरी उपरीक्षक सिंहका अनुसार ससुराले मृतक बुहारीलाई बाथरुममा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानको क्रममा खुलेको छ । ‘आफूले गरेको करणी प्रयासबाहिर आउँदा सामाजिक प्रतिष्ठा जाने र छोराको निधनपश्चात् प्राप्त रकमको विषयलाई लिएर मारेको देखिन्छ’, राठौरले भन्नुभयो । 

प्रहरीका अनुसार मृतककी पतिको निधनपछि दुर्घटना, बीमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट झण्डै ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको थियो । बीमाको रकम दश लाख ६३ हजार नौ सय चौध रुपैयाँसमेत ससुराले झिकिसकेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया