म्याग्दीमा रोपाइँको रौनक यस्तो देखियो (फोटोफिचर)

 असार १५, २०७७ सोमबार २२:१०:२१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । आजको दिनलाई नेपाली समाजमा दही र चिउरा खाने पर्वका रुपमा लिइन्छ । दही, चिउरा खाएर धान रोप्नका लागि हिलो गह्रामा पस्नुपर्छ भन्ने चलन पनि रही आएको छ । 

हरेक वर्ष असार १५ मा फरकफरक नारासहित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिन्छ । जिल्लास्तरमा कृषि ज्ञान केन्द्रको मुख्य आयोजनामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिन्थ्यो । तर यस वर्ष भने कोरोना भाइरसका कारण कार्यक्रमहरु भएनन् ।

 

सरकारले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७७ को नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने तय गरेको छ ।जिल्लामा दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम आयोजना नगरिए पनि ग्रामीण भेगमा भने कृषकहरुले खेतमा धमाधम धान रोपिरहेका छन् । यस वर्ष कोरोना भाइरसका कारण रोपाइँ महोत्सव कार्यक्रम नगरिएको हुँदा ग्रामीण भेगका कृषकहरुले सुरक्षा सतर्कता अपनाएर भौतिक दुरी कायम गर्दै खेतीपातीको काममा आफूहरु लागिपरेको बताएका छन् ।

यसपटक समयमै पर्याप्त वर्षा भएका कारणले किसानलाई धान रोप्न सजिलो भएको छ । धान रोप्ने बेला हिलोमा काम गर्ने र त्यही हिलो आपसमा छ्यापेर खुसी साटासाट गर्ने गरिन्छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले रोपाइँमा पनि प्रभाव पारेको छ ।

धान रोपाइँका लागि उपयुक्त मानिने वर्षात्को समय असार महिनाको १५ अर्थात् मध्य असार बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र ५ ओटा गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरुमा धान रोपाइँ गरिएको हो । यस वर्ष समयमै मनसुन सुरु भएको हुँदा जिल्लाको विभिन्न स्थानमा रोपाइँ भैरहेकाले हालसम्म जिल्लामा ४० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । 

गएको हिउँदबाट नै पटकपटक हिमपात तथा वर्षा परिरहेको हुँदा यस वर्ष समयमै पर्याप्त मनसुनी वर्षा भएकाले पनि पहाडी क्षेत्रमा खेत रोपाइँ गर्न सहज भएको स्थानीय कृषकहरु बताउँछन् । गत वर्षको तुलनामा यसवर्ष समयमै मनसुन परेको हुँदा धान उत्पादन समेत बढने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको कुल खेतीयोग्य जमिनको ३० हजार ८ सय ५६ हेक्टरमध्ये १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ भने ३ हजार ८ सय ९८ हेक्टरमा धान खेती हुँदै आएको छ । गत वर्षको तथ्याङ्क अनुसार कुल खेतीयोग्य जमिनको करिब ११ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । 

म्याग्दीको बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा धान खेतीको उत्पादन हुन्छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छुम्रुङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया