शेयर बजारमा उछाल, पटक–पटकको सर्किट ब्रेकपछि कारोबार बन्द

 असार १६, २०७७ मंगलबार १३:३९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेको छ । हिजो नकारात्मक सर्किट ब्रेक लागेर  केही समय  बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो ।

आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो, दोस्रो पटक पाँच प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द भएको हो ।

होटल र म्युचल फण्डबाहेक सबैजसो समूहको शेयर उकालो लागेपछि ६ दशमलव शून्य ६ प्रतिशतले बढेको नेप्से १२ सय ६० दशमलव ७५ बिन्दुमा पुगेको छ । आज जीवन बीमा समूहको शेयर ६ सय ३४ अङ्कले,  निर्जीवन बीमा समूहको शेयर दुई सय ९६ अङ्कले  र उत्पादन एक सय २२ अङ्कले उकालो लागेको  छ ।

आज २२ करोड ७२ लाख रुपैयाँ बराबरका चार लाख ८९ हजार पाँच सय कित्ता शेयर किनबेच भए । आज नागरिक लगानी कोष, एसियन, सूर्य, नेपाल, नेशनल लाइफ इन्स्याेरेन्स र शिवम् सिमेन्टका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् ।

२१ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । तर राष्ट्रिय पुनर्बीमा कम्पनी र ओरियन्टल होटलका शेयरधनीले सबैभन्दा धेरै झण्डै १० प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: असार १६, २०७७

तपाईको प्रतिक्रिया