दाङ : वडाध्यक्ष डाँगीलाई उपचारकाे लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगियो

 असार १६, २०७७ मंगलबार १९:९:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेत्र विक्रम चन्द 'विप्लव' समूहको नेकपाका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते हुनुभएका वडाध्यक्ष फर्साराम डाँगीलाई उपचारकाे लागि काठमाण्डौ लगिएको छ । 

मनाङ एअरको हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको हो । दाङको शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष डाँगीमाथि वडा कार्यालयमै आक्रमण गरिएको थियो । दाङमा उपचार सम्भव नभएपछि वडाध्यक्ष डाँगीलाई उपचारकाे लागि काठमाण्डौ लगिएको गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकीले जानकारी दिनुभएको छ ।

वडाध्यक्ष डाँगीलाई कुटपिट गरेकाे ठाउँमा नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ । मुकुण्डाे लगाएर चार जनाको समूहमा कार्यालयभित्र प्रवेश गरेका विप्लव समूहका कार्यकर्ताले कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभएको छ ।

प्रवक्ता बुढाथोकीले वडाध्यक्ष डाँगी अहिले पनि बेहोस अवस्थामा रहनुभएकाे जानकारी दिनुभएकाे छ । यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको नेतृत्वमा जिल्लाकाे सुरक्षा अङ्गको टोली घटनास्थल शान्तिनगर पुगेको छ । 

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष कुटपिटको जिम्मा विप्लव समूहले लियो

दाङमा वडाध्यक्षलाई कुटपिट गरेको घटनाको जिम्मा नेत्र विक्रम चन्द विप्लव समूहको नेकपाले लिएको छ । कुटपिट भएको स्थल वडा कार्यालयमा छोडिएको विज्ञप्तिमा कुटपिटको जिम्मा लिएको उल्लेख गरिएको छ ।

पार्टीका शान्तिनगर गाउँ कमिटीका सक्रेटरी कमल सिंहले हस्ताक्षर गरेको विज्ञप्तिमा विभिन्न आरोप लगाउँदै वडाध्यक्षलाई कुटपिट गरेको उल्लेख गरिएको छ । कारबाही स्वरुप वडा कार्यालयमै कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो समूहले विभिन्न सात आरोप लगाउँदै कारबाही गरेको जनाएको छ । वडाध्यक्ष पदमा रहेर डाँगीले जनभावना विपरीतको कार्य गरेको भन्दै कारबाही गरेको जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया