डोटीका पत्रकार तेज खड्काको निधन भएको दुई वर्षपछि पुष्टि

 असार १६, २०७७ मंगलबार २२:१४:२२ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीका पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि आज निधन भएको पुष्टि भएको छ । 

दुई वर्ष अगाडि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहनुभएका पत्रकार तेजबहादुर खड्काको निधन भएको पुष्टि भएको हो । 

पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय टोलीले सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा गएको वर्ष विसं २०७६ साल मङ्सिर महिनामा बाजुराको बढी नन्दामा कङ्काल भेटिएको थियो ।

भेटिएको मानव कङ्काल नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको थियो । प्रयोगशालामा गरिएको परीक्षणपछि कङ्‍काल पत्रकार तेजबहादुर खड्काकै रहेको पुष्टि भएको खबर आएको जिल्ला प्रहरी कार्ययालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताउनुभयो ।

बेपत्ता भएका पत्रकार खड्काको खोजी गर्ने क्रममा त्यसको एक वर्षपछि मङ्सिर महिनामा दुई वटा करङ, झोला र आइडी कार्ड भेटिएको थियो ।पत्रकार खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भइ रेडियो बुढीनन्दा बाजुरामा बजार व्यवस्थापकको रुपमा काम गर्दै आउनुभएको थियो । 

खड्का रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रीय प्रसारण केन्द्रमा समेत लामो समय कार्यरत रहनुभएको थियो । उहाँ विसं २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा बरमाग्ने भन्ने डाँडाबाट एकाएक बेपत्ता हुनुभएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया