आज ६ उडानमार्फत नेपाली स्वदेश फर्कंदै

 असार १८, २०७७ बिहिबार ७:५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज ६ उडानमार्फत विभिन्न देशबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् ।

खाडीका देश, मलेसिया र माल्दिभ्समा समस्यामा परेका नेपाली स्वदेश आउने उडान तालिका रहेको त्रिभुवन विमानस्थलले जनाएको छ । आज कुवेतबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश आउँदैछन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्यहाँ समस्यामा रहेका नेपाली आउँदैछन् भने जजिरा एअरले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल लिएर आउँदैछ ।

यस्तै आज साउदीबाट पनि दुई उडानमार्फत नेपाली फर्कने भएका छन् । साउदीको दमामबाट हिमालय एअरलाइन्स र जेद्दाबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरु स्वदेश फर्कनेछन् ।

मलेसियाको क्लालाम्पुरबाट मालिण्डो एअरले नेपाली लिएर आउँदैछ भने हिमालय एअरमार्फत आज माल्दिभ्सबाट पनि नेपाली फर्कने तालिका रहेको छ । आजै हिमालय एअरलाइन्स नेपाली लिन यूएईको आबुधाबी जाँदैछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया