नेपालमा रहेको सलहको झुण्ड विखण्डन, अर्को झुण्ड भारतमै

 असार १८, २०७७ बिहिबार ७:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सलहको नयाँ झुण्ड अहिलेसम्म नेपाल प्रवेश नगरेको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयल अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार भारतको पूर्वी क्षेत्रबाट सलह नेपाल छिर्ने सम्भावना छ । केन्द्रका अनुसार हिजो सलहको एक झुण्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । सलह दार्जीलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ ।

त्यो सलहको झुण्ड नै नेपालमा प्रवेश गर्ने सम्भावना छ । पूर्वी तराई हुँदै तल्लो पहाडमा आउनसक्ने विश्लेषण गरिएको केन्द्रका प्रमुख सहदेव हुमागाई्ंले उज्यालोलाई जानकारी दिनुभयो । कतैबाट सलह आउने सूचना प्राप्त भएमा पनि आवश्यक सावधानी अपनाउने र समुदायलाई जानकारी गराउन समेत कृषि मन्त्रालयले आग्रह गरेको छ । सलह देखिएमा तत्कालै पालिका, प्रहरी र कृषि ज्ञान केन्द्रमा खबर गर्न उहाँको अनुरोध छ । 

कुनै स्थानबाट सलह उडेको देखेमा कुन दिशामा गइरहेको छ, त्यसको आकार लगायत आवश्यक सूचना सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ । आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुँडा, बाजागाजा र साइलेन्सर हटाएको मोटरसाइकलको हर्न बजाउने, लाउड स्पिकरमा आवाज दिने, धुवाँलगाउने वा कुनै माध्यमबाट बाधा पु¥याई झुण्डलाई अन्यत्रै मोड्न सकिने विज्ञको भनाइ छ ।

नर्सरी तथा करेसाबारी जस्ता साना क्षेत्रमा हुने खेतीमा झुल तथा जाली लगाएर छोपेर पनि जोगाउन सकिन्छ । धानखेतमा पानी जम्मा गर्न सकेमा नोक्सानी कम हुनेछ । टनेल भित्रको बालीलाई कीरा छेक्नसक्ने गरी बेरेर राख्न समेत विज्ञहरुले आग्रह गरेका छन् । 

भारत हुँदै नेपाल भित्रिएको सलह कीरा नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको सङ्ख्यामा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताउनुभयो ।

उहाँले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेको समेत बताउनुभयो । कृषि मन्त्रालयका अनुसार सलहले देशका केही जिल्लामा देखिने गरी नै क्षति पुर्‍याएको छ । बारामा मकै तथा तरकारी बालीमा क्षति पुर्‍याएको छ ।

हेटौँडामा झण्डै सय हेक्टरमा नै क्षति पु¥याएको विवरण आएको मन्त्रालयले जनाएको छ । अन्य जिल्लामा पनि क्षति पुर्‍याएको तर क्षतिको विवरण सङ्कलन भैरहेको छ । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया