सुदूरपश्चिम सरकारको तथ्याङ्क नै नक्कली, भेन्टिलेटर नभएको अस्पतालमा दुईवटा भेन्टिलेटर

 असार १८, २०७७ बिहिबार ८:३:४० | सीताराम ओझा
unn.prixa.net

कैलाली – प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाउँदै आएको तथ्याङ्कमा असार १३ गतेसम्म सुदूरपश्चिम प्रदेशमा १४ शैयाको आईसीयू कक्ष र १० वटा भेन्टिलेटर उपलब्ध रहेको जानकारी दिइएको थियो ।

महाकाली अस्पतालमा दुई वटा भेन्टिलेटर उपलव्ध रहेको भन्दै एक महिनासम्म जानकारी दिंदै आएको मन्त्रालयले असार १४ मा भने एउटा पनि भेन्टिलेटर उपलब्ध नभएको तथ्याङ्क पठाएको थियो । १४ असारदेखि नयाँ तथ्याङ्क सार्वजनिक भएसँगै महाकालीमा चार शैयाको आईसीयू र दुई वटा भेन्टिलेटर रहेको भन्नेबारे सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले नक्कली विवरण दिंदै आएको पुष्टि भएको हो ।

अस्पतालमा भेन्टिलेटर नै नभएको महाकाली अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताउनुभयो । यस्तै अस्पतालमा आईसीयू बेड राखिएको भए पनि सञ्चालनमा नआएको उहाँको भनाइ छ । 

सुदूरपश्चिममा कोरोना देखिएदेखि नै प्रत्येक दिन नक्कली विवरण दिदै आएको प्रदेश सरकार र मन्त्रालयकै चरम लापरवाहीका कारण बुधबार एक बालकको ज्यान गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का १४ वर्षीय पर्वत गिरीलाई बुधबार बिहान सर्पले टोकेपछि महाकाली अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ भेन्टिलेटर नभएकै कारण उनको ज्यान गएको आफन्तहरुले बताएका छन् ।

महाकाली अस्पतालमा आईसीयू र भेन्टिलेटर उपलब्ध छ भनेरै नै उनलाई त्यहाँ पुर्याइएको थियो । बेहोस अवस्थामा रहेका बालकलाई महाकाली अस्पताल पुर्‍याइएकोमा अस्पतालले भेन्टिलेटर र आइसीयू नभएको भन्दै धनगढी रेफर गरिदिएको अस्पतालका सूचना अधिकारी भट्टले बताउनुभयो । तर बालकलाई सेती प्रादेशिक अस्पतालमा पुर्याउनै नपाइ बीच बाटोमै ज्यान गएको हो । 

प्रदेश सरकारले नक्कली विवरणहरु दिएका कारण बालकले ज्यान गुमाउनु परेको भन्दै सामाजिक सञ्जालमा पनि प्रदेश सरकारको चर्को आलोचना भइरहेको छ । 

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भेन्टिलेटर खरिदको चरणमा रहेको बताउनुभयो । उहाँले हाललाई महाकालीमा भेन्टिलेटर सेवा सञ्चालनमा नरहेको स्वीकार गर्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया