शेयर बजार घट्याे, पटक–पटकको सर्किट ब्रेकपछि कारोबार बन्द

 असार १८, २०७७ बिहिबार १४:१०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । 

काठमाण्डौ – बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८० दशमलव ४१ अङ्कले घटेर नेप्से एक हजार दुई सय ५६ दशमलव ११ अङ्कमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात् १७ दशमलव ९९ अङ्कले घटेर २ सय ६९ दशमलव ०३ अङ्कमा बन्द भएको छ । आज एक सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको एक लाख ६१ हजार आठ सय ९० कित्ता शेयर खरिद बिक्री भएको छ ।

बजार खुलेको तीन मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रो पटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरि ५ प्रतिशतले नेप्से घटेपछि दोस्रो पटक पुनः सर्किट ब्रेक लागेको थियो । फेरि १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको हो । 

सोमबारदेखि खुलेको बजार सोमबार केही अङ्कले घटेको थियो भने मङ्गलबार र बुधबार बढ्दो क्रममा सर्किट लागेर कारोबार बन्द भएको थियो । तर बिहीबार भने लगातार घट्दो क्रममा तीन पटक सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ ।

बजारमा कारोबारमा आएका समूहमध्ये म्युचल फण्डबाहेकका सबै समूहका सूचकहरु घटेका थिए । बैंकिङ समूह ७ दशमलव ४३ प्रतिशतले घटेको छ । जीवन बीमा ७ दशमलव ६७ प्रतिशत घटेको छ । होटल समूहमा भने सबैभन्दा धेरै ८ दशमलव ६९ प्रतिशतले गिरावट आएको छ । सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यी दुवै कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

बजार घटे पनि स्वाबलम्बन लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका शेयरधनीले कमाएका छन् । स्वाबलम्बन लघुवित्तका शेयरधनीले आज ८ प्रतिशतले कमाएका छन् । सोल्टी होटल, प्रभु बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंकलगायतका कम्पनीका शेयरधनीले ९ प्रतिशतमाथि गुमाएका छन् । जसमध्ये सोल्टी होटलका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया