वर्षातको समयमा पानीजन्य रोगको जोखिमबाट कसरी बच्ने ?

 असार १९, २०७७ शुक्रबार १०:३३:४१ | जानुका दुवाडी

काठमाण्डौ – वर्षातको समयमा पानीजन्य जीवाणुबाट हुने रोगको जोखिम बढ्छ ।

विषेशगरी यो समयमा डेङ्गी, मलेरिया, जण्डिस र झाडापखालाजस्ता रोगहरुको जोखिम बढ्ने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका फेमिली फिजिसियन डाक्टर विश्वराज दवाडीले बताउनुभएको छ । वर्षातको समयमा भेल पानी बगेर धारा तथा कुवामा फोहोर हुने गर्छ । त्यही पानी मानिसलेसमेत पिउनका लागि प्रयोग गर्दा पानीजन्य रोगको जोखिम हुन्छ ।

पानीको शुद्धतामा घरबाहिर मात्र होइन, घरभित्र पनि विशेष सावधानी अपनाउनु पर्छ । घरभित्रको पानी त हो नि भनेर विश्वास गर्दा समस्या आउन सक्ने उहाँको भनाइ छ । रोगको सङ्क्रमण धेरै हदसम्म हाम्रै रहनसहनका कारण हुने भएकाले आफूले अलिकति ध्यान दिएमा धेरै रोगको जोखिमबाट बच्न सकिने उहाँ बताउनुहुन्छ । अहिले पानी शुद्धतामा निकै समस्या देखिएकाले विशेष ख्याल गर्नुपर्ने र खानेकुरामा सावधानी अपनाउनु पर्ने उहाँको भनाइ छ ।

पानीजन्य जीवाणुका कारण लाग्ने रोगहरु

डेङ्गी

डेङ्गी रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । खासगरी पानी जम्ने टिनका डब्बा, रङ्का खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, फुलदानी, गमला र पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता बस्तुहरू धेरै हुने भएकाले यो लामखुट्टे सहरमा बढी पाइन्छ । एडिस नामक लामखुट्टेले विशेषगरी दिउँसोको समयमा टोक्ने गर्दछ ।

औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइन्छ । तर डेङ्गी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेङ्गी रोग लाग्दा एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी र पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, वाकवाकी लाग्ने र पेट दुख्नेलगायतका लक्षण देखा पर्छन् ।

मलेरिया

एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया सर्छ । यो लामखुट्टे घर वरपर पानी जम्ने खाल्डाखुल्डीमा बस्छ । यो परजीविबाट मानिसमा सर्छ ।

मलेरियाको परजीवि मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भएर रगतको माध्यमबाट शरीरका विभिन्न भागमा फैलिन्छ । समयमै उपचार नभए ज्यानसमेत जान सक्छ । १० देखि १५ दिनसम्म ज्वरो आए, टाउको दुखे, वान्ता भए, जोर्नी दुखे, शरीरमा रगतको मात्रा कम भए र थकान महसुस भएमा मलेरिया भएको बुझ्नुपर्छ ।

झाडापखाला

झाडापखाला सामान्यतया वर्षातको समयमा फैलिने गर्छ । दिनको तीन पटक वा त्योभन्दा धेरै पानीजस्तो पातलो दिसा लाग्नु झाडापखाला हो ।

हाम्रो नाङ्गो आँखाले देख्न नसकिने जीवाणुबाट खाना र पानी सङ्क्रमित हुन्छ । त्यो खाना र पानी फोहोर हातको माध्यमबाट मानिसमा सर्छ र झाडापखाला लाग्छ । धेरै समयसम्म यसको उपचार नगरे ज्यानसमेत जान सक्छ ।

पटकपटक पानीजस्तो पातलो दिसा हुनु, वाकवाकी लाग्नु, बान्ता हुनु, पेट कराउनु र दुख्नु, हातखुट्टा र मांसपेशी दुख्नु, बाउँडिनु र गल्नु, तिर्खा बढी लाग्नु, रिङ्गटा लाग्नु, कमजोरी महशुस हुनु र मुख सुख्खा हुनु झाडा पखालाका लक्षण हुन् ।

जण्डिस

खानेकुरा र पानीजन्य जीवाणुको कारण यस मौसममा देखिने अर्को प्रमुख रोग जण्डिस हो । दूषित पानी र बासी खानेकुराले धेरैलाई जण्डिस देखिने गर्छ । शरीरमा पानीको कमी हुँदा पनि कसैलाई कसैलाई जण्डिस हुने डाक्टरहरु बताउँछन् । बजारमा बासी तथा खुल्ला खानेकुरा खाने गर्नाले पनि जण्डिस देखिने गर्छ । सुरुमा ज्वरो आउने शरीर गल्दै जाने जण्डिसको प्रमुख लक्षण हुन् ।

बच्ने उपाय

पानीजन्य जीवाणुका कारण हुने रोगबाट बच्नका लागि पानी शुद्धीकरण गरेर, उमालेर, फिल्टर गरेर, पियूषजस्ता पानी शुद्ध बनाउने औषधि हालेर मात्रै पिउने गर्नुपर्छ । घर वरपरको वातावरण सफा राख्नुपर्छ । खुल्ला राखेका र बासी खानेकुरा खानु हुँदैन । झुल टाँगेर सुत्ने गर्नुपर्छ । शरीर ढाक्ने गरी कपडा लगाउनुपर्छ । यसरी सावधानी अपनाउँदा अपनाउँदै पनि समस्या देखिएमा अस्पताल गएर जाँच गर्नुपर्छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया