म चार पटक प्रधानमन्त्री भएँ, तपाईँहरुमध्ये काेही लायक हुनुहुन्छ ? : देउवा

 असार १९, २०७७ शुक्रबार १३:३८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसङ्घ नेतृत्वप्रति आक्रोशित हुनुभएको छ । 

नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसङ्घले सङ्गठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित हुनुभएको हो ।

नेविसङ्घले काठमाण्डौमा भाषण गरेर बस्ने प्रवृत्तिले सङ्घ कमजाेर बनेकाे भन्दै देउवाले आक्रोश व्यक्त गर्नुभयो । अहिले गाउँका कुनै पनि स्कुलमा नेविसङ्घ नरहेको र जित्ने हैसियत नेविसङ्घले नराखेको भन्दै आक्रोशित हुनुभयो । पहिला गाउँ र स्कुलमा गएर नेविसङ्घ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उहाँले विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले अहिले नेविसङ्घभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताउनुभयो । उहाँले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताउनुभयो । चार पटक प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको बताउनुभयो ।

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले कहिलेकाँही कार्यक्रम नगरे पनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया