होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ : पर्यटन मन्त्री भट्टराई

 असार १९, २०७७ शुक्रबार १४:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कोरोना सङ्क्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनकाे लागि आवश्यक छलफल भइरहेको बताउनुभयो । अहिलेको पर्यटक/ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उहाँले बताउनुभयो । व्यवसायीहरुले सञ्चालन अनुमतिकाे लागि पटक–पटक आग्रह गरे पनि छलफल चलिरहेको उहाँले बताउनुभयो । 

होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको उहाँले बताउनुभयो । व्यवसायीहरुले होटल सञ्चालनकाे लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लागि सीसीएमसीमा प्रस्ताव लिएर जाने उहाँले बताउनुभयो ।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आउँदो डिसेम्बर २० सम्म सम्पन्न हुने बताउनुभयो । निर्माणको काम सकिएपछि करिब तीन महिना सञ्चालनको पूर्वतयारी गरी व्यावसायिक उडान भर्ने उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको लकडाउनकाे कारण पर्यटन क्षेत्रमा आठ लाख जनाको रोजगारीमा असर परेको उहाँले बताउनुभयो । सरकारी र निजी क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उहाँले साढे दुई लाख प्रत्यक्ष र आठ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उहाँले बताउनुभयो । 

स्वास्थ्य सामग्री ढुवानीको पैसा ओम्नी समूहले अहिलेसम्म भुक्तानी नगरेको उहाँले बताउनुभयो । चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादित ओम्नी समूहले अहिलेसम्म ढुवानीबापतको रकम एअरलाइन्सलाई दिएको छैन । 

कोरोनाले पुर्‍याएकाे क्षतिपछि कसरी पुनर्स्थापना गर्ने भन्ने विषयमा आवश्यक छलफल चलिरहेको उहाँले बताउनुभयो । देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमार्फत ५० अर्बको पुनर्कर्जाको लागि कोष बनाइएको उहाँले बताउनुभयो । एक खर्बको अर्को कोष बनाइएको उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने भनेर अहिले २० करोडको एउटा कोष बनाइएको बताउनुभयो ।   

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया