ओली र प्रचण्डको छलफल सकियो, संवाद जारी राख्ने

 असार १९, २०७७ शुक्रबार १६:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पार्टीभित्रको विवाद समाधानको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

आज एक दिन स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्षबीच कुराकानी गर्ने हिजोको निर्णय अनुसार दुई अध्यक्षबीच छलफल भएको हो । दुई अध्यक्षबीच पार्टी एकता जोगाउने विषयमा छलफल भएको र संवाद जारी राख्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामहरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो ।

आजको छलफलमा विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी हुनहुन्थ्यो । प्रचण्ड र माधव नेपाल पक्षले प्रधानमन्त्रीको राजीनामालाई मुख्य शर्त बनाएका छन् भने प्रधानमन्त्री ओली कुनै पनि हालतमा राजीनामा दिन तयार नहुँदा विवाद बढ्दैछ । पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएपछि नेकपाका अरु नेताहरु पनि बिहानैदेखि छलफलमा छन् ।

दोस्रो तहका नेताहरुले जसरी पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् । आज कृषि मन्त्री घनश्याम भुसालको निवासमा नेताहरु प्रदीप ज्ञवाली, शंकर पोख्रेल, विष्णु रिमाल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, वर्षमान पुन, मणि थापा, सुरेन्द्र पाण्डे, योगेश भट्टराईसहितका नेताहरु भेला भएर पार्टी एकता जोगाउन नेताहरुलाई दबाब दिएका हुन् । उनीहरुले पार्टी एक बनाउन आफूहरु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको जनाएका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया