सुदूरपश्चिममा एकैदिन ४८९ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ३ हजार ५३५ पुग्यो

 असार १९, २०७७ शुक्रबार १९:४३:५२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा शुक्रबार एकैदिन थप चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ । 

प्रदेशमा एकैदिन काेराेना सङ्क्रमणकाे पुष्टि हुनेकाे सङ्ख्या याे अहिलेसम्मकै धेरै हाे । धनगढीसहित विभिन्न प्रयोगशालामा भएको परीक्षणमा एकैदिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार पाँच सय ३५ पुगेको छ । 

काेराेना सङ्क्रमितकाे सङ्ख्या हेर्ने हाे भने प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ पछि सुदूरपश्चिम तेस्राे स्थानमा छ । 

शुक्रबार सङ्क्रमण पुष्टि भएकामा अन्य प्रयोगशालामा भएको परीक्षणमा कुन जिल्लाका कति नखुले पनि धनगढीमा भएको परीक्षणमा पुष्टि भएका सङ्क्रमितको जिल्ला र पालिका खुलेको छ ।

धनगढीमा शुक्रबार भएको परीक्षणमा नाै महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका दुई जना, डोटीको आदर्श गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका सात जना, बैतडीको मेलौलीका तीन जना, मङ्गलसेन अछामका दुई जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेरा गाउँपालिका, डोटीको शिखर नगरपालिका, केआईसिंह गाउँपालिका र कैलालीको टीकापुरका एक/एक जनामा कोरोना पुष्टि भएको छ । 

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण भएको उहाँले जानकारी दिनुभयो । सुदूरपश्चिममा कोरोना पुष्टि भएकामध्ये सात जनाको मृत्यु भएको छ भने ६ सय ८० जना डिस्चार्ज भएका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया