नेकपा केन्द्रीय सदस्यद्वारा पार्टी कार्यालयमा धर्ना

 असार १९, २०७७ शुक्रबार १८:४५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पार्टीभित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुङ्गो लगाउन माग राख्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् ।

पार्टीभित्र पछिल्लो समय देखिएको विवादको हल वार्ता र संवादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरु धर्नामा बसेका हुन् । पार्टी विधि, विधान र पद्धतिअनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धतिअनुसार अगाडि बढ्नुपर्ने उनीहरुको माग छ । 

नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताउनुभएकाे छ । बैठक बाहिरबाट समाधान नहुने उल्लेख गर्दै उहाँले सामूहिक छलफलबाट नै निष्कर्ष निस्किने बताउनुभयो । नीतिलाई प्राथमिकतामा राखेर अगाडि बढेमा समस्या समाधान हुने उहाँकाे भनाइ छ । 

अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधान भएर अगाडि बढ्दा यस्तो समस्या आएको बताउनुभयो । व्यक्तिगत स्वार्थ र स्वेच्छाचारी ढङ्गले नेताहरु अगाडि नबढेको भए यस्तो समस्या नआउने उहाँले बताउनुभयो । विधि, विधान र पार्टीको बैठकबाट नै अहिलेको समस्याको समाधान खोज्नुपर्नेमा उहाँकाे जाेड छ । 

अर्का सदस्य जगन्नाथ खतिवडाले पार्टी विभाजन गर्ने तत्वहरु सल्बलाउन लागे उनीहरु एक्लो पर्ने बताउनुभयो । पार्टी विभाजनको सोच राख्नेहरुले सपना देखे पनि एक्लै हुने जीकिर गर्दै उहाँले पार्टी पङ्क्तिलाई कुनै क्षति नपुग्ने बताउनुभयो । 

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने पक्ष बलियो हुँदै गएको छ । मदन जन्म जयन्तीका अवसरमा पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न खोजेको र नेपालका नेताहरुसमेत त्यसमा सक्रिय रहेको अभिव्यक्ति दिएपछि पार्टीभित्र विवाद बढेको हो । 

स्थायी समिति बैठकमा ओलीको राजीनामा माग्ने पक्षको आवाज बलियो हुँदै गएपछि ओलीले बैठक छल्दै आउनुभएको छ । सरकारले अचानक संसद् बैठक अन्त्य गर्ने निर्णय गरेपछि पार्टी फुटाउने अध्यादेश फेरि आउने आशङ्का नेकपा नेताहरुले गरिरहेका छन् । 

दुई अध्यक्षबीच छलफलकाे लागि भन्दै नेकपाको स्थायी समिति बैठक शनिबारसम्मकाे लागि स्थगित भएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया