‘केपी ओली र प्रचण्ड मात्रै होइन, नेकपाका अरु नेता पनि सच्चिनुपर्छ’

 असार १९, २०७७ शुक्रबार १९:२२:२१ | माेहनविक्रम सिंह
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने विषयमा विवाद भइरहेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको कारण भारतले आफूलाई पदबाट हटाउन खोजेको प्रधानमन्त्री ओलीले भनिराख्नु भएको छ ।

पार्टीभित्र देखिएका पछिल्लो गतिविधि पनि त्यसैको असर हो भनेर उहाँले भन्दै आउनुभएको छ । यो भनाइमा धेरै सत्यता छ जस्तो मलाई लाग्दैन । नक्सा जारी गर्ने कुरा ओलीको नीतिले मात्रै निर्णय गरेको कुरा होइन । यो निर्णय नेकपाको हो । यसमा भारतको षड्यन्त्रकै परिणाम हो भन्ने हाम्रो शङ्का छैन । 

नेकपाभित्र पहिले पनि असन्तुष्टि थिए । केपी शर्मा ओलीलाई पहिले पनि हटाउनुपर्ने आवाज नउठेको हैन । भारतलाई देखाएर जुन अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिनुभएको छ, त्यसलाई सही मान्न सकिँदैन । 

पहिलो कुरा त नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्डलगायत अरु नेता पनि सच्चिनुपर्छ । एकले अर्कालाई आरोप र प्रत्यारोप गर्नु अर्थहीन छ । अहिले विवाद देखिनुका मुल कारण पार्टी र सरकार सञ्चालनमा दक्षता प्रकट गर्न नसक्नु नै हो । नेतृत्वले व्यक्तिवादी प्रवृत्ति देखाउन थालेकै कारण अहिले विभिन्न समस्या आएका हुन् । भारतले भूमिको विषयमा देखाएको प्रवृत्तिबारे त सबैलाई प्रष्टै छ ।

पार्टीले हटाउन चाहे प्रधानमन्त्री ओली पदबाट हट्नुपर्छ 

केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नुभएको व्यक्तिको कारणले हुँदै होइन । ओली नेकपाको सम्पूर्ण शक्ति लगाएर पदमा पुग्नुभएको हो । पार्टीका सबै नेताहरुको समर्थन र देशभरका कार्यकर्ताले खेलेको भुमिकालाई उहाँले भुल्नु हुँदैन । यहाँसम्म उहाँलाई पार्टीले नै ल्याएको हो । त्यसैले पार्टीले जे निर्णय गर्छ, उहाँले मान्न तयार हुनुपर्छ । पार्टीले हटाउन चाहन्छ भने उहाँ हट्नुपर्छ पनि ।

छलछाम गर्ने, चालबाजी गर्ने, षड्यन्त्र गर्ने त्यो प्रवृत्ति कदापि देखाउनु हुँदैन । उहाँमा अहिले व्यक्तिवादी भूमिका देखिएको छ, यो गलत छ । उहाँको कार्यप्रणाली नै गलत छ । भारतले आफूलाई हटाउन खोजेको भनेर उहाँले जुन कुरा भन्नुभएको छ, उहाँकै गलत कार्यशैलीको परिणाम हो यो । अब पनि सरकार र पार्टीमा उहाँले ठिक कार्यशैली देखाउनुभएन भने यसले देशलाई ठूलो नोक्सान पुर्याउनेछ ।

प्रचण्डको कार्यशैलीमा पनि सुधार हुनुपर्छ

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि धेरै काम गर्न सक्नुहुन्थ्यो तर सक्नुभएन । प्रचण्ड, माधव कुमार नेपाललगायत नेताहरुले पनि आफ्नो भूमिका निर्वाह गर्न सक्नुभएको जस्तो मलाई लाग्दैन । विशेषतः प्रचण्ड पार्टी अध्यक्ष नै भएको नाताले उहाँले धेरै गर्न सक्नुहुन्थ्यो । पार्टीका त्यति धेरै कमिटी छन् । जे निर्णय आवश्यक पर्छ, पहिले त्यहाँ निर्णय गराउनुपर्ने थियो । उहाँले पनि एउटा गति लिन सक्नुभएन ।

अहिले नेकपाका तल्लो तहका नेता तथा कार्यकर्ताहरुबाट गैरजिम्मेवार काम हुने गरेका छन् । यी सब हुनुमा नेतृत्वकै कमजोरी हो । प्रचण्डले मात्रै होइन, प्रचण्डलगायत अरु नेताहरुले पनि आफ्नो जिम्मेवारी कार्यशैलीबारे पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

पूरै नेकपा नसच्चिए देश अर्को सङ्कटमा जान्छ

सरकार सञ्चालन र पार्टी सुधारबाट नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डलाई मात्रै दोष दिएर पनि हुँदैन । अहिलेको आवश्यकता नेकपा पूरै सच्चिनुपर्ने हो । जब पूरै नेकपा सच्चिन्छ, तब मात्रै सरकारको कार्यशैली पनि राम्रो हुँदै जान्छ र समग्र देशकै हित हुनेछ भन्ने मेरो बुझाइ छ । ओली र प्रचण्डमा केही समस्या होलान् तर अरु नेताले पनि नेतृत्वलाई मात्रै गाली गरेर आफू चाहिँ नसच्चिने भन्ने हुँदैन । पार्टीभित्र केही असन्तुष्टि आएका छन् भने त्यसको समाधान छलफलबाट निकाल्नुपर्छ । कुनै छलफल नै नगरि बाहिर बाहिरै आफ्ना विवेचना दिएर हिँड्ने हो भने त कमिटीको के काम लाग्यो, हैन र ?

नेकपा बिग्रिए देश नै बिग्रन्छ

अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकलौटी सरकार छ । यस्तो अवसर नआउन पनि सक्छ । राजावादीलगायत शक्ति नेपालमा नेकपालाई समाप्त गर्न चाहन्छन् । या भनौँ नेपालमा कम्युनिस्ट शक्ति समाप्त भएको हेर्न चाहन्छन् । नेकपाको गलत कार्यप्रणालीको कारण यसको असर चौतर्फी रुपमा परिरहेको छ । आम नागरिकले जुन म्याण्डेड दिएका थिए, त्यो अनुसार काम गर्न नसक्दा सबैले गाली गरिरहेका छन् । बहुमतको दम्भमा जे–जे मन लाग्यो त्यही गर्न थालियो भने त्यस्तो रवैयाले पार्टीलाई मात्रै होइन, समग्र देशलाई नै असर पर्नेछ । 

नेकपाको विवादले राष्ट्रियता, धर्म निरपेक्षता, गणतन्त्र सबैमा असर पर्नेछ । आफ्नो मूल्याङ्कन गरेर नेकपा अघि नबढे प्रतिगामी शक्तिहरु सल्बलाउन थाल्नेछन् । मधेशवादीहरु नेकपालाई फुटाउन प्रयत्न गरिरहेका छन् । अरु शक्ति पनि त्यत्तिकै सक्रिय छन् । विखण्डनवादी शक्तिले चहलपहल गर्न पाउनेछन् । लामो समयको कम्युनिस्ट आन्दोलनले देश आज यहाँसम्म आइपुगेको छ । अझ पनि उपलब्धि हासिल गर्न नसके अब झन् सङ्घर्षमा लाग्न कठिन हुनेछ । त्यसैले नेकपा र नेकपाको नेतृत्व बेलैमा सचेत हुनुपर्ने देखिन्छ । 

नेकपा कसरी सच्चिन सक्छ ?

मूलतः प्रधानमन्त्री ओलीको कार्यशैलीमा जुन परिवर्तन आएको छ, मार्क्सवादी सिद्धान्तमा विचलनको परिणाम हो । उहाँको कार्यप्रणाली र शब्द प्रणालीले पनि नेकपालाई विचलनतिर धकेलिरहेको हो । प्रधानमन्त्री ओली आफै पनि गुटबन्दीतिर लाग्नुभएको छ । नागरिकको जुन म्याण्डेड छ, त्यसलाई प्रधानमन्त्री ओली, प्रचण्ड र नेकपाका अरु नेताहरुले बुझ्न सक्नुभएन । आफ्नो कार्यशैली सच्याउन अझै पनि सक्नुभएन भने उहाँहरुले देशलाई निकास दिन सक्नुहुन्न भन्ने मलाई लाग्छ ।

नेतृत्वको चरित्र निकै स्खलन भएको अवस्था छ अहिले । चरित्र जुन तरिकाले अघि बढिरहेको छ, सिद्धान्त जुन तरिकाले स्खलन भइरहेको छ, तत्काल विश्लेषण गरी अघि बढ्नुपर्ने आवश्यकता छ । राप्रपालगायत पार्टीभन्दा कम्युनिस्ट पार्टीको सिद्धान्त फरक भएकोले सरकार र नेकपा पार्टीले आफ्नो भूमिकालाई भुल्न हुँदैन ।

(वामपन्थी नेता तथा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत २, २०८०

माेहनविक्रम सिंह

सिंह वामपन्थी नेता तथा नेकपा मसालका महामन्त्री हुनुहुन्छ । 

1 Comments

  • राजेन्द्र

    July 3, 2020, 11:40 p.m.

    आजसम्म कसैले कुकुरको पुच्छर ढुन्ग्रोमा राखेर सिधा भएको थाहा छ । बार्हबर्ष कुकुरको पुच्छर ढुन्ग्रोमा हालेर निकाल्यो बॉगोको बॉगै ।

  •  0 Reply

तपाईको प्रतिक्रिया