खाडी र मलेसियाबाट स्वदेश फिर्ती : शुक्रबार ६ उडानमार्फत फर्किए ९२६ नेपाली

 असार १९, २०७७ शुक्रबार १९:१४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको कारण विदेशमा समस्यामा परेका ९ सय २६ जना नेपालीहरु आज विभिन्न ६ उडानमार्फत स्वदेश आइपुगेका छन् । यूएईबाट तीन उडानमार्फत ४५६ जना आएका छन् ।

यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४२ जना, दुबई राज्यबाट नेपाल एअरलाइन्समार्फत १४७ जना र सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६७ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यस्तै आज कतारको दोहाबाट पनि दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १४५ जना आएका छन् । जहाजमा दुई नेपालीको शव पनि आएको छ भने कतार एअरवेजले १ बच्चासहित १४० जना नेपाली ल्याइदिएको छ । आजै मलेसियाबाट मलिण्डो एअरमार्फत १७६ जना नेपाली स्वदेश फर्किएका छन् ।

आज राति साउदीमा समस्यामा परेका नेपाली लिन हिमालयको एक र नेपाल एअरलाइन्सका दुई वटा जहाज त्यसतर्फ जाँदैछन् । जहाजले भोलि शनिबार बिहान नेपाली लिएर आउनेछन् ।

भोलि पनि नेपाली ल्याउन र लिन जान गरेर खाडीका देशमा मात्रै १० वटा उडान हुने विमानस्थलले जनाएको छ ।

भोलि शनिबार नेपाल एअरलाइन्सका दुई र हिमालय एअरलाइन्सको एक जहाजले साउदीबाट नेपाली ल्याउनेछन् भने कुवेतबाट पनि हिमालय एअरलाइन्सको चार्टर्ड जहाजमार्फत त्यहाँ समस्यामा रहेका नेपाली स्वदेश फर्कनेछन् । नेपाल एअरलाइन्स भोलि नै मलेसियाको क्लालाम्पुर जाँदैछ ।

भोलि हिमालय र नेपाल एअरलाइन्सका जहाज नेपाली लिन कतारको दोहा जाँदैछन् । टर्किस एअरलाइन्सले इस्तानबुलबाट नेपाली लिएर आउँदैछन् भने कतारबाट कतार एअरवेज नेपाली लिएर आउँदैछ । जजिरा एअरले कुवतेमा आममाफीमा सहभागी नेपाली लिएर आउँदैछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया