'हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको दोस्रो झुण्ड प्रवेश गर्ने सम्भावना छैन'

 असार १९, २०७७ शुक्रबार २१:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईँले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताउनुभएको छ ।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका कार्यदलका संयोजक एवं प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईँले यस्तो बताउनुभएको हो । 

उहाँले भारतको राजस्थानबाट हावाको गति दक्षिणतर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको जानकारी गराउनुभयो । उहाँले बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज (शुक्रबार) भारतको मध्यप्रदेशतिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताउनुभयो । 

भारतको इटहवा भैरहवा नाकादेखि पाँच सय किलोमिटर नजिक रहेको तर आज सलहको झुण्ड दक्षिणतर्फ लाग्दा सात सय ६७ किलोमिटर टाढा पुगेको बताउनुभयो । उहाँले मनसुन तथा हावाको दिशामा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन नसक्ने बताउनुभयो ।

उहाँले सलह नियन्त्रणको लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको बताउनुभयो । मानवबस्ती नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उहाँले स्पष्ट पार्नुभयो ।

तर अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने चार/पाँच वटा विषादीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले अहिले नेपालमा ६० लाखदेखि ६५ लाखको सङ्ख्यामा नेपाल आइपुगेको र नेपालमा अण्डा पार्ने सम्भावना पनि नभएकाले सलहलाई आवाजको माध्यमबाट भगाउन सकिने बताउनुभयो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले आसार १७ गतेसम्म देशका अधिकांश जिल्लामा सलह पुगेको तर दश वटा जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको बताउनुभयो । असार १३ गते भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पासम्म पुगेको र तीन दिनभित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको उहाँले बताउनुभयो ।

नेपाल भित्रिएको ५ दिनमा अर्घाखाँची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछामसम्म पुगेको बताउनुभयो । उहाँले १७ गतेसम्म दाङमा सबैभन्दा धेरै पाँच सय हेक्टर, प्युठानमा दुई सय ८३ हेक्टर, अर्घाखाँचीमा एक सय हेक्टर र मकवानपुरमा एक सय पाँच हेक्टर जमिनमा क्षति पुगेको बताउनुभयो । 

बैठकमा सांसदहरुले यसअघि पनि कृषि मन्त्रालय र विज्ञहरुले नेपालमा सलह आउँदैन भनेको तर नेपालमा ठूलो सङ्ख्यामा सलह आएकोले फेरि पनि नआउने भन्ने सम्भावना नरहेकोले त्यसको नियन्त्रणको लागि तयारी बढाउन सुझाव दिएका छन् ।

उनीहरुले थाल ठटाएर अथवा गीत गाएर सलह भगाउने कुरा असम्भव भएकाले विषादीको प्रयोग गर्ने या अन्य कुनै विकल्प किसानलाई दिनुपर्ने बताए । यस्तै धान र मकै सलहले मनपराउने भएकाले त्यसलाई जोगाउनु चुनौतीपूर्ण भएको सांसदहरुले बताए ।

मन्त्रालयले किसानहरुलाई जालीले धानको ब्याड ढाक्न दिएको सुझावमा पनि सांसदहरुले असन्तुष्टि जनाए । धेरै बिगाहा जमिनमा खेती गर्न लगाइएको ब्याड ठूलो हुने भएकाले जाली लगाएर रोक्ने काम असम्भव र अव्यवहारिक भएको सांसदरुले बताए । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया