नेकपाको कलह देखेर भड्कियो सलह !

 असार २०, २०७७ शनिबार ७:३५:३९ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै – भारतको मरुभूमिमा घुमफिर गर्दै गरेको सलहलाई एक्कासी नेपाल घुम्ने रहर जाग्यो । अफ्रिकाबाट निस्कने बेला कसैले सुनाएको थियो, सलहलाई नेपाल उपयुक्त छैन । देश नै सानो छ,  पसेर बस्ने ठाउँ त पुग्दैन, नेपाल गएर के खानु ? 

तर केही दशक पहिले नेपाल आएर फर्किएका पुर्खाहरुले भनेका थिए, खान बस्नको लागि नेपाल राम्रो ठाउँ छ । त्यसमाथि सलह भारतमा घुम्दै गर्दा नेपालको क्षेत्रफल एकाएक ठूलो भयो । भारतले आफ्नो भनेर कब्जा गरेको भूमि आफ्नो नक्सामा समेट्न सक्ने नेपाललाई कसरी सानो भन्ने ?  

अनि नेपालका प्रधानमन्त्री, मन्त्रीदेखि नागरिक हरेक कुराका विज्ञ र जानकार छन् । बेसारपानी र जन्तर झुण्ड्याएर कोरोना ठिक पार्छौं भनेर प्रधानमन्त्री, मन्त्री र सबै नेताहरु लागेका छन् । अलि दिन कोरोनासँग डराए पनि नेपाली अहिले निस्फिक्री बाहिर निस्कन थालेका छन् । हिमालबाट बगेको चिसो हावा र जडिबुटी मिसिएको पानी खाएर हुर्किएका बहादुर र निडर नेपाली ! नक्सामा क्षेत्रफल बढाएपछि नाक फुलाएर बसेका नेता ! लकडाउनपछि देशभित्र र विदेशमा रहेकासमेत खेती गर्ने भन्दै गाउँ फर्किएका छन् । केही न केही त भैसक्यो नेपालमा । सलहलाई नेपाल नहेरी नछोड्ने मन भयो । 

त्यसपछि आफ्ना परिवार, आफन्त, छरछिमेकी, नातागोता सबैलाई अघिपछि लगाएर सलह नेपाल छिर्यो । भारतबाट नेपाल आउन त्यति गाह्रो पनि रहेनछ । अरु देशमा त पासपोर्ट र भिसा खोज्थे । कोरोनाको डर देखाउँथे । तर भारत हुँदै नेपाल पस्न न पासपोर्ट र भिसा चाहिने, न कोरोना परीक्षणकै झण्झट । 

बिना कुनै रोकतोक सलह नेपाल आइपुग्यो । भारतमा रहँदै नेपालका प्रधानमन्त्रीको भाषण सुनिएको हो, हिमालबाट बहने हावा र जडिबुटी पखाल्दै बहने पानीमा अचुक शक्ति छ । एकपटक यहाँको हावामा सास फेर्न र एक तुर्को पानी पिउँदैमा स्वर्ग पुगेजस्तो आनन्द हुन्छ । सलहलाई लाग्यो, नेपालको स्वच्छ हावापानी र हिमाली वातावरणले शान्ति पाइन्छ । 

सलहले यो पनि सुनेको थियो कि नेपाली शान्तिप्रेमी छन् । केही दशक पहिले नेपाल आएर फर्किएका पुर्खाहरुले पनि नेपालीहरु सबैलाई समान व्यवहार गर्छन् भनेका थिए । 

आउनेबित्तिकै मोल तोकिदिए, किलोको जम्मा २० रुपैयाँ । सलहलाई आफू यति सस्तो छु जस्तो लागेकै थिएन । तर नेपालीले भाउ घटाइदिए ।

नेपाल पस्दै गर्दा सुनेको र जानेको कुरा सबै होजस्तै लाग्यो । राजनीतिक वातावरण पनि राम्रै लाग्यो । नेपालका पत्रकार भारतकाभन्दा पनि टाठा रहेछन्, मनको कुरा सबै भन्न सक्ने । केहीबेर त पत्रकारसँग अन्तर्वार्ता दिंदामै समय बित्यो । तर कुरो बँग्याउन भारतका पत्रकारभन्दा खप्पिस रहेछन् । भारत फर्कन्छौं भनेर भन्दै नभनेको कुरा बंग्याएर सलहलाई भारतकै मरभूमि फर्कन मन भनेर समाचार लेखे ।

त्यसपछि सलहलाई लाग्यो, नेपाल त सुने र भनेजस्तो हैन रहेछ । नक्सामा चुच्चो थपेर के गर्नु, खेतबारी त बुच्चै रहेछन् । एकपटक सबैजना बस्दा कसैको पनि भूँडी नभरिने फाँट । त्यसमाथि नेपालीहरु हिँस्रक भैसकेछन् । पहिलेपहिले भैंसी खान पनि अप्ठ्यारो मान्नेहरु अहिले सलहको समेत मासु खान पल्किएछन् । भेदभाव धेरै गर्दा रहेछन् । आउनेबित्तिकै मोल तोकिदिए, किलोको जम्मा २० रुपैयाँ । सलहलाई आफू यति सस्तो छु जस्तो लागेकै थिएन । तर नेपालीले भाउ घटाइदिए ।

केहीलाई सलह पहाडतिर उक्लन सक्दैन भन्ने भ्रम रहेछ । त्यो भ्रम तोड्न पनि पहाड त उक्लनै पर्यो । पहाड उक्लंदा सलह झन् निराश भयो । बसाईं सराईले गाउँपाखा रित्तो हुन लागेको । सरकारले बजेटमा कृषि उत्पादन बढाउने कुरा गरे पनि अवस्था उस्तै रहेछ । 

सलहलाई पनि थाहा थियो, नेपालमा स्थिर सरकार छ । दुईजना पाइलट भएको पार्टीले सरकार चलाएको छ, विकास निर्माणदेखि उत्पादनले पनि हराभरा हुन्छ भन्ने सुनेको थियो । तर दुईजना पाइलट भएको पार्टी नै खोक्रो भैसकेछ । दुई तिहाईको बलियो सरकार नै ढल्ने अवस्थामा पुगेछ । दुई तिहाईको सरकारलाई हटाउन पाईंदैन भन्दै सडकमा प्रदर्शन नै गर्नुपर्ने अवस्था भैसकेछ । 

नेपाल छिर्दा सलहका केही साथीहरुले राजस्थानमा गएर फुल पारे पनि खानपिन र बसोबास चाहिँ नेपालमै गर्ने सोच बनाएका थिए । यहाँको हावापानी स्वस्थ र रोग प्रतिरोधी छ भन्ने सुनेर यतै बस्ने योजना बनाएका थिए । त्यसमाथि नेपालमा  कृषि उत्पादन बढाउने सरकारको घोषणाले पनि यहीँ बसेर खान पुग्छ भन्ने लागेको थियो । तर अन्न मात्र हैन सागपात र लसुन समेत अझै भारत र चीनबाट आयात गर्नुपर्ने अवस्था रहेछ । सलहलाई लाग्यो, नेपाली भन्ने जातले रोप्न, उमार्न र फलाउन बिर्सेछ । किनेर र मागेर जीविका गर्नेहरुको देशमा किन बस्नु ? 

यहाँ कहिले रेल चल्ने ? कहिले मेलम्चीको पानी आउने ? कहिले विकास निर्माणले गति लिने ? कहिले सलहलाई समेत बढी हुनेगरी कृषि उत्पादन गर्ने ? 

कृषि उत्पादन बढाउने र विकास निर्माणले देश हराभरा बनाउने कसम खाएर सत्तामा पुगेका नेताहरु अझै सुध्रिसकेका रहेनछन् । आफू बसेकै कुर्सी दह्रो बनाएर राख्न नसक्ने, आफू बसेकै घर हराभरा बनाउन नसक्नेले कहिले देशको विकास गर्ने ? यहाँ कहिले रेल चल्ने ? कहिले मेलम्चीको पानी आउने ? कहिले विकास निर्माणले गति लिने ? कहिले सलहलाई समेत बढी हुनेगरी कृषि उत्पादन गर्ने ? 

सलहलाई समेत नेपालको राज्य संयन्त्रबारे राम्रोसँग थाहा छ कि समस्या गाडीमा छ, चालकमा हैन । बाटो उही, इन्जिन उही, सहचालक र पाटपुर्जा उही । तालिम र सोचाइ उही । तर साहुजीहरु चालक फेर्न कस्सिएका छन् । चालक गाडी नै त्रिशूलीमा हेलिदिने सुरमा छन् ।

एक दुई दिन अझै बसियो भने अनिकालमै मरिएला भन्ने डर भयो । नेकपाको कलह सुनेर सलह अब भड्किएको छ । नेपाल भ्रमण छोट्याएर फर्कने तरखर गर्दैछ ।
 

अन्तिम अपडेट: साउन १६, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

2 Comments

  • Tikaram

    July 5, 2020, 1:13 a.m.

    हजुर को पोस्ट हरु पढ्दा छर्लङ्ग बुझ्छु अनि कता कता शेयर पनि गर्न मन लाग्छ अति समसामयीक अहिलेको हाम्रो परिबेश रमाइलो ब्यङ्ग को रुपमा उतारीदिनु भो मुरी मुरी धन्यबाद का साथै अझै उत्साह र हौसलाका हातहरु फैलाउदै जाउन । बिडम्बना यो छ कि सलह र कोरोना मर्लान किनकी यीनिहरु बिदेशी हुन तर हाम्रा स्वदेशी किराहरुले जहिले पनि काठमाण्डौ मा फुल पारीरहन्छन र हामी लाई महामारीबाट उम्कन दिदैनन।

  •  0 Reply
  • गमप्रसाद गुरुङ

    July 4, 2020, 8:01 a.m.

    राजनीतिक समसमायीक कुरा सरकार आफ्नै पार्टी भित्रको कलह र फट्याङ्ग्रा प्रजातिको किरा सलह व्याङ्ग सारै राम्रो लाग्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया