ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

 असार २०, २०७७ शनिबार १४:५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । काठमाण्डौ–तराई फास्ट ट्र्याकको जेरो प्वाइन्ट मानिएको खोकनाको खुदोल फाँटमा साङ्केतिक रुपमा धान रोप्न पुगेका किसानलाई प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेर हटाएको छ ।

गएकाे असार १५ गते पनि साङ्केतिक रोपाइँको लागि पुगेका किसानलाई प्रहरीले हटाएपछि आज काठमाण्डौका विभिन्न ठाउँबाट समेत किसानहरु विरोधको लागि खोकना पुगेका थिए ।

आज रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो, काेदालोसहित खुदोल फाँटमा पुगेका किसानले प्रहरीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको हाे ।

सरकारले खुदोल फाँटलाई फास्ट ट्र्याकको जेरो प्वाइन्ट घोषणा गरेकाेले जग्गाको मुआब्जा लिन आउन किसानलाई आग्रह गरेको छ तर किसानहरुले फाँटमा फास्ट ट्र्याक बनाउँदा खोकनाको सभ्यता विनाश गर्न हुने भन्दै विरोध गर्दै आएका छन् ।  

किसानहरुले संयुक्त रुपमा धान रोपाइँ गर्न थालेपछि बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि उनीहरुले नाराबाजी सुरु गरेका थिए ।

उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए । ‘फास्ट ट्र्याक चाँहिदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होउ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुङ्गामुढा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।

बाहिरी चक्रपथ, काठमाण्डाै–तराई द्रुत मार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् ।  

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • narayan prasad regmi

    July 4, 2020, 5:08 p.m.

    जग्गा जस्को भए पनि सरकारि निति अनुरुप नै बाझो जग्गामा रोपाई गरि बालबच्चा पाल्न र राष्ट्रिय उत्पादन मा बृद्दि गर्दा कसलाई क्षति पुग्छ र ? निस्सा प्रमाण बिना ब्यक्तिको जग्गा हुने नेपाल को कानुन छैन होला ? किन किसनलाई बर्बर लाठि र अश्रुग्यास बर्षाउनु पर्याहोला सरकार ले ! कठै हाम्रो कृषि प्रधान देश नेपाल ! जग्गा बाझो राखे कार्वाहि जोते लाठि र गोलि ! के भनौ र खै ।

  •  0 Reply

तपाईको प्रतिक्रिया