प्रदेश १ मा ५१ प्रतिशत रोपाइँ सकियो, समयमै पानी पर्नु मुख्य कारण

 असार २१, २०७७ आइतबार १८:५८:४८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ मा असार २१ गतेसम्म ५१ प्रतिशत रोपाइँ सकिएको छ ।  प्रदेश १ का १४ जिल्लामध्ये भौगोलिक रुपमा झापा, मोरङ र सुनसरीमा ५६ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ ।

मध्य पहाडका इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरका जिल्लामा ४४ दशमलव ६० प्रतिशत रोपाइँ भएको प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले उच्च पहाडको ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा भने ३० प्रतिशत रोपाइँ सकिएको छ । तीन लाख ४० हजार आठ सय २९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनुपर्नेमा १ लाख ७४ हजार ३०६ हेक्टरमा धान रोप्ने काम पूरा भएको प्रवक्ता उप्रेतीले बताउनुभयो । 

जिल्लागत रुपमा मोरङ र तेह्रथुम जिल्लामा सबैभन्दा बढी ६५ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम सङ्खुवासभामा २० र ओखलढुङ्गामा २२ प्रतिशत मात्र रोपाइँ भएको डा. उप्रेतीले जानकारी दिनुभयो ।

गएको वर्ष २०७६ असार २४ गतेसम्ममा प्रदेश १ को धान रोपाइँको अवस्था याेभन्दा निकै कम थियो । मन्त्रालयका अनुसार गएको वर्ष असार २४ गतेसम्ममा २८ दशमलव १६ प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष धान रोपाइँ बढ्नुको मुख्य कारणको रुपमा समयमै पर्याप्त वर्षा हुनुलाई विज्ञले लिएका छन् । 

किसानलाई चाहिने मल र बिउको व्यवस्थापन पनि धान रोपाइँ बढ्नुको कारण भएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया