हराएका माेटरसाइकल धनीलाई बुझाइयाे

 असार २१, २०७७ आइतबार १८:४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – महानगरीय प्रहरी परिसर काठमाण्डौले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

प्रहरीले विभिन्न ठाउँबाट चोरी भइ फेला परेका २० थान मोटरसाइकल तथा स्कुटर आइतबार पत्रकार सम्मेलन गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) एवं महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख श्यामलाल ज्ञवालीले मोटरसाइकल तथा स्कुटर चोरी भएको उजुरी परेको आधारमा विभिन्न समयमा जाँचको क्रममा र केही ठाउँमा बेवारिसे अवस्थामा फेला परेको बताउनुभयो ।

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाइड गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो । लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा जाँच हुँदा कागजपत्र प्राप्त नभइ छोडेर गएका मोटरसाइकलहरु चोरी भएको पाइएको ज्ञवालीले बताउनुभयो । 

उहाँले काठमाण्डौ उपत्यकामा चक्रपथभन्दा बाहिरको क्षेत्र र सार्वजनिक पार्किङबाट मोटरसाइकल चोरी भएको तथा हराएको उजुरी सबैभन्दा धेरै परेको जानकारी समेत दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया